बर्षा र आकाश अभिनित ‘दिल तोडेर गयौ’ सार्वजनिक


काठमाडौं – एउटा गीत राम्रो हुनुमा गायक, संगीतकार र गीतकार मध्य कस्को भुमिका बढी होला ? गीतका शब्द लेख्ने गीतकारको भुमिका बढी हुन्छ भन्ने कुरामा सायद कसैको दुईमत नहोला ।

कुनै समय गायक मात्रै सबैभन्दा अगाडी हुन्थे तर अहिले समय बदलिएको छ । संगीतकार र गीतकारले पनि आफ्नो परिचय स्थापित गर्न सफल भएका छन् । दर्शक स्रोताले फलानो गीतको संगीतकार र गीतकार भनेर चिन्न थालेका छन् ।

संगीत भरेर र गीत लेखेर राम्रो नाम र दाम कमाउन सकिने समय आएको छ । संगीत क्षेत्रको यहि परिवर्तन र आकर्षणले होला नयाँ पुस्ताका गीतकार र संगीतकारको आगमन दिनानुदिन थपिँदैछ।

गीतकारका रूपमा सुरेन्द्र थेगिम नेपाली संगीतमा नयाँ नाम हो । भर्खरै मात्रै उनले आफ्नो पहिलो प्रयासका रूपमा ‘दिल तोडेर गयौ’ बोलको सेन्टिमेन्टल भर्सनको गीतको भिडियो सार्वजनिक गरेका छन् । यस गीतमा स्वर जगदिश समालको रहेको छ भने शब्द सुरेन्द्र थेगिमको रहेको छ । संगीत नारायण सुवेदी ‘आभास’ को रहेको छ। गीतको म्युजिक एरेन्ज्मेन्ट फणीन्द्र राईले गरेका हुन् ।

प्रेम बिछोडको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका बर्षा राउत र नायक आकाश श्रेष्ठलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ । साथमा मोडेल निराजन प्रधानलाई बर्षाको श्रीमानका रूपमा देखाइएको छ । बुद्ध थापाले खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । यस भिडियो निकेश खड्काको निर्देशनमा तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement