‘पत्रकारमाथिको धरपकड अस्वीकार्य, सरकारले अलोकन्त्रिक चरित्र देखायो’

‘पत्रकारमाथिको धरपकड अस्वीकार्य, सरकारले अलोकन्त्रिक चरित्र देखायो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गर्नु आपत्तिजनक भएको बताएकी छन्।

शुक्रबार वक्तव्य जारी गर्दै उनले पत्रकारलाई धम्क्याउने, सादा पोसाकका प्रहरी समाचार कक्षमा पठाउने तथा प्रहरी कार्यालयमा बोलाएर केरकार र दबाब दिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएकी हुन्।

‘समाचार लेखेकै भरमा पत्रकारलाई धरपकड गर्नु अत्यन्त आपत्तिजनक कार्य हो । यसले सरकारको अलोकतान्त्रिक चरित्र फेरि एक पटक नेपाली जनताले देख्ने मौका पाएका छन्,’ संग्रौलाले वक्तव्यमा भनेकी छन्।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार भएको उल्लेख गर्दै यो अधिकार कसैको निगाहमा प्राप्त नभई दशकौँ लामो संघर्षको उपलब्धि भएको बताएकी छन्।

समाचारमा चित्त नबुझे खण्डन गर्ने, उजुरी गर्ने वा कानुनी उपचार खोज्ने वैधानिक बाटा हुँदाहुँदै सत्ता र शक्तिको बलमा सञ्चारकर्मीलाई दबाब दिनु गलत भएको उनको भनाइ छ।

‘नेपाली कांग्रेस यस्ता गतिविधिको निन्दा गर्दछ,’ उनले भनेकी छन्, ‘म सम्पूर्ण पत्रकारहरूलाई तत्काल रिहा गर्न र संविधानको मर्मअनुरूप प्रेस स्वतन्त्रताको सम्मान र प्रत्याभूति गर्न सरकारसँग जोडदार माग गर्दछु।’

संग्रौलाले यस्ता गतिविधिबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार वर्तमान सरकार नै हुने चेतावनीसमेत दिएकी छन्।

पत्रकार पक्राउ प्रकरणमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले पनि सरकारसँग घटनाबारे स्पष्ट पार्न माग गरेका थिए। रास्वपाले समाचारकै विषयमा कुनै पनि पत्रकार वा सञ्चारकर्मीलाई गैरकानुनी रूपमा पक्राउ गर्न नमिल्ने धारणा सार्वजनिक गरेको थियो।