काठमाण्डु – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आगामी पुस २६, २७ र २८ गते हुने १५औं राष्ट्रिय महाधिवेशन पार्टीको रूपान्तरण, शुद्धीकरण र विश्वास निर्माणका लागि ऐतिहासिक अवसर भएको बताएकी छिन् ।
महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको बहस, जनतामा बढ्दै गएको राजनीतिक बेचैनी र देशको जटिल परिस्थितिले कांग्रेसलाई निर्णायक मोडमा उभ्याएको उनको बुझाइ छ । ‘यो अब सामान्य महाधिवेशन होइन, पार्टी र देशको भविष्य चयन गर्ने मोड पनि हुनेछ,’ उनले भनिन् ।
लामो आन्तरिक बहस र धेरै केन्द्रीय सदस्यहरूको दबाबपछि महाधिवेशन नियमित रूपमा गर्ने निर्णयले कांग्रेसभित्र नयाँ ऊर्जा थपेको संग्रौलाले बताइन् । उनका अनुसार कार्यतालिका कडा देखिए पनि समय र परिस्थिति अब थप ढिलाइ सहन नसक्ने स्तरमा पुगेकाले कांग्रेसले समयमै महाधिवेशन गर्नु अनिवार्य थियो ।
पार्टीको पेसागत बुद्धिजीवी विभाग प्रमुख समेत रहेकी उनले भनिन्, ‘हामीले जति गुनासो गरे पनि मुलुक दुई दिनमै बदलिन सक्छ भन्ने इतिहास छ । कांग्रेसले चाहेर लाग्योभने यो कार्यतालिकामा सम्भव छ ।’
कुराकानीका क्रममा संग्रौलाले हालै भएको जेनजी–युवा आन्दोलन र देशभर देखिएको असन्तोषलाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बताइन् । उनका अनुसार भदौ २३ र २४ गतेका घटनाले मुलुकको राजनीतिक धरातल नै हल्लाएको छ । ‘युवाहरूले प्राण दिए, ठूलो बलिदान भयो । त्यो घटनाको छानबिन त हुनु नै पर्छ, तर त्यसले मुलुकलाई नयाँ बाटोतिर मोड्ने चेतना जगाएको छ,’ उनले भनिन् ।
युवा पुस्ताको ‘हुटहुटी’ लाई कांग्रेसले सम्बोधन गर्नैपर्ने उनको स्पष्ट धारणा छ । ४० प्रतिशत युवा सहभागिता चाहिन्छ भने उनीहरुका लागि नेतृत्वको ढोका पनि खोल्नुपर्ने उनले बताइन् । युवाहरुहरूले यतिबेला आफ्नो प्रतिनिधित्व मात्र नभइ निर्णय निर्माणमा नेतृत्व खोजिरहेको उनले बताईन् ।
संग्रौलाले कांग्रेसले आत्मालोचना गर्नुपर्ने समय आएको बताइन् । ०४६ सालपछि लाभका पदमा बसेका सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने उनको स्पष्ट माग छ । आन्तरिक सुशासन आयोग गठन गरी पार्टीभित्रैबाट शुद्धीकरण शुरु गर्नुपर्ने उनले जोड दिइन् ।
‘जबसम्म पार्टीभित्रै पारदर्शिता र जवाफदेहिताको पुनर्जागरण हुँदैन, जनताले कांग्रेसप्रति विश्वास गर्लान् भनेर सोच्नु बेकार हुन्छ,’ संग्रौलाले भनिन् । उनले भ्रष्टाचारविरुद्धको कठोर आन्दोलनको कांग्रेसले नै नेतृत्व गर्नुपर्ने बताइन् । यतिबेला कांग्रेस भित्रको संगठनमा ताजकीकरण र समावेशी नेतृत्वको आवश्यकता रहेको उनको बुझाई छ ।
पार्टीको नेतृत्व गर्ने निकायमा महिला, युवा, आदिवासी, मधेसी, थारु, मुसलमान, दलित लगायत सबै समुदायको समावेशी सहभागिता बढाउनु कांग्रेसको दीर्घकालीन अस्तित्वका लागि जरुरी रहेको संग्रौलाको भनाइ छ । उनले कांग्रेसले विधान संशोधनमार्फत युवाको न्यूनतम ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने पनि बताइन् ।
महिलाको नेतृत्वबारे बोल्दै उनले भनिन, ‘कांग्रेस भित्र यतिबेला ५४ प्रतिशत महिला सक्रिय सदस्य छन् । तर पदाधिकारीमा महिला निकै सीमित छन् । यसलाई परिवर्तन गर्नैपर्छ । उपसभापति, महामन्त्रीदेखि सह महामन्त्रीमा पनि महिला सहभागिता बढाउनु अत्यावश्यक छ ।’
निर्वाचन वातावरण र हालको चुनौती
फागुन २१ गते हुने निर्वाचनलाई कांग्रेसले ‘मुभमेन्ट’ को रूपमा लिन निर्णय गरिसकेको बताउँदै संग्रौलाले हाल देशमा सुरक्षा र राजनीतिक वातावरण चुनौतीपूर्ण रहेको बताइन् ।
जेनजी पुस्ताद्वारा गरिएको आन्दोलनका क्रममा प्रहरी चौकीहरू ध्वस्त, हतियार लुटिने, कैदीबन्दी फरार हुने घटनाले सुरक्षाकर्मीको मनोबल कमजोर बनाएको बताउँदै उनले भनिन,‘सेना परिचालनको कुरा आउन थालेको छ । यस्तो अवस्थामा दलहरूलाई मतदातासँग संवाद गर्ने वातावरण सुनिश्चित गर्न सरकार जिम्मेवार हुनुपर्छ ।’
तर संग्रौला निर्वाचनतर्फ विस्तारै सकारात्मक वातावरण बढ्दै गएको अनुभव गर्छिन् । ‘जनता विकल्प खोजिरहेका छन, पुराना दलहरूलाई पुनः मूल्यांकन गर्ने मनस्थितिमा छन् । कांग्रेसले विश्वास जगाउने मौका यही हो,’ उनले भनिन् ।
कांग्रेसभित्र नयाँ नेतृत्वबारे बहस तीव्र बन्दै गएको बताउँदै संग्रौलाले सोशल मिडिया र जनमतमा देखिएका अपेक्षाहरूलाई पार्टीले संवेदनशीलतापूर्वक लिनुपर्ने बताइन् । ‘हामीले जसलाई चाहन्छौँ मात्र होइन, देश र समयले मागेको नेतृत्व आउनुपर्छ,’ उनले भनिन् ।
युवापुस्ता, नयाँ विचार र रूपान्तरणको मान्यता बोकेर आउने नेता नै मुलुकलाई गन्तव्यमा पुर्याउन सक्षम हुने संग्रौलाको विश्वास छ । उनी भन्छिन्,‘कांग्रेस हरपटक संकटमा निर्णायक भूमिका खेलेको पार्टी हो, अहिले फेरि त्यो क्षण आएको छ ।’
महाधिवेशनबाट कांग्रेस फेरि सच्चिएर उठ्नेछ
रूपान्तरणको एजेन्डा स्पष्ट, शासकलाई चुनौती दिने क्षमता बलियो र युवालाई नेतृत्वमा उक्ल्याउने संकल्पसहित कांग्रेस फेरि जनताको पहिलो विकल्प बन्न सक्ने उनले विश्वास व्यक्त गरिन् । ‘जनताले नयाँ दलतर्फ हेर्न थालेका छन् । तर पुराना दल सक्किएका होइनन, सच्चिन बाँकी छ । कांग्रेस सच्चिएर अघि बढे जनताले फेरि विश्वास गर्छन,’ संग्रौलाले भनिन् ।
महाधिवेशनलाई उनले कांग्रेसको भविष्य मात्र होइन, मुलुकको भविष्य तय गर्ने निर्णायक अवसरका रूपमा पनि लिनुपर्ने बताइन । ‘हामीले यो अवसर गुमायौँ भने जनताको भरोसा फर्काउन कठिन हुन्छ । तर रूपान्तरणका एजेन्डासहित हामी अघि बढ्यौँ भने कांग्रेस फेरि देशको केन्द्रबिन्दु बन्न सक्छ । म तयार छु, संघर्षमा पनि, नेतृत्वमा पनि ।




प्रतिक्रिया