अर्थमन्त्रीज्यू ! राष्ट्रपति र प्रधानमन्त्रीको भत्ता कटौती गर्नु पर्दैन ? : डिला संग्रौला


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सरकार प्रमुखहरुले पाउने भत्ता कटौती नगरेको भन्दै आपत्ति जनाएकी छन् । उनले सरकारले कोरोनाको कारण देखाउँदै कर्मचारीको भत्ता रोकेको तर, राष्ट्रपति प्रधानमन्त्री, मन्त्री र सांसद विकास कोषको रकम कटौती नगरेको भन्दै असन्तुष्टी व्यक्त गरेकी छन् ।

सोमबार प्रतिनिधिसभाको विनियोजन विधेयकमाथि छलफलमा भाग लिँदै सांसद संग्रौलाले सरकारले ल्याएको बजेट संविधानको मूल मर्म र भावना विपरित भएको टिप्पणी गरेकी हुन् ।

‘कर्मचारीको भत्ता कटौती गर्ने भनिएको छ । प्रधानमन्त्री, राष्ट्रपतिसहित यो मुलुकको प्रमुख व्यक्तिहरुको भत्ता कटौती गर्न पर्छकी पर्दैन ?,’ उनले भनिन्, ‘प्रतिपक्ष दलले सांसद विकास कोष घटाएर कोरोना कोषमा ल्याऊँभन्दा अर्थमन्त्रीले आँखा चिम्लिनु भएको छ ।’

उनले अर्थमन्त्रीलाई आफू पनि पिएचडी डाक्टर भएको बताउँदै अहिलेको बजेट स्वीकार्न नसक्ने बताइन् । उनले भनिन्, ‘अर्थमन्त्री पनि पिएचडी, म पनि पिएचडी त्यो आँखाबाट हेर्दा विचार गरियोस् भन्‍ने विनियोजन विधेयक कसरी विचार गर्न सकिन्छ अर्थमन्त्रीज्यू ।’

त्यस्तै सांसद संग्रौलाले पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा पिसिआर परीक्षणको दायरा बढाउनुको सट्टा सरकार आरडिटी टेस्टको किट किन्न तल्लिन रहेको आरोप लगाएकी छन् ।

‘जसले भ्रम सिर्जना गरिरहेको छ भने त्यो आरडिटी किट किन किन्नु पर्यो ? यो किन्नु भनेको सरकार भ्रष्ट्राचार गर्नमा तल्लिन भएको देखिन्छ’, उनले भनिन् ।

त्यस्तै उनले सीमाबाट आएका नागरिक राख्ने क्वारैन्टाइन विश्व स्वस्थ्इ संगठनको मापदण्ड बिनाका रहेको बताइन् । त्यस्तै उनले विदेशबाट ल्याएका नेपालीलाई राहत दिन सरकारले ठोस कार्ययोजना अगाडि नसारेको भन्दै आपत्ति जनाइन् । सरकारले कृषिमा आत्मनिर्भर बनाउन मल बिउ बिजन नदिएको भन्दै कागजी कार्ययोजनाले मात्र काम नगर्ने उनको तर्क छ ।

उनले कोरोना र लकडाउनले महिला हिंसा बढेको बताइन । ‘प्रसव पीडा भएर प्रसुती गृहमा लगिएका गर्भवती महिलाको उपचार गर्न अस्पतालले पीसीआर रिपोर्ट खोज्छ । अकालमा ज्यान गुमाउनु परेको अवस्था छ’, उनले भनिन् ।

उनले बजेट किसान, महिला र मजदुर मैत्री नरहेकोले कार्यकर्तामैत्री भएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement