प्रधानमन्त्रीज्यू रघुवीर महासेठले आर्थिक चलखेल गरे बर्खास्त गर्नूस्: डिला संग्रौला


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले यातायातमन्त्री रघुवीर महासेठलाई पदमुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेकी छन् । उनले अब हुने मन्त्रिपरिषद् पुर्नगठनमा महासेठलाई हटाउने माग गरेकी हुन् । सांसद संग्रौलाले सडकको सुरक्षा अवस्था दयनीय बन्दै गएको र महासेठले निर्माण कार्यमा चाासो नदेखाएको बताएकी छन् ।

सडक सुरक्षाको अवस्था नाजुक रहेकै कारण नागरिकले सवारी दुर्घटनाबाट अनाहकमा ज्यान गुमाउन विवश भइहरेको भन्दै उनले सडकको अवस्था तत्काल सुधार गर्न माग समेत गरेकी छन् । सडक सुरक्षा विकराल बन्दासमेत ‘न सरकार बोल्छ, न मन्त्री बोल्छन्’ उनको गुनासो छ ।

सांसद संग्रौलाले दुर्घटनाको गम्भीरतालाई हेरेर संसदमा सडक सुरक्षा सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्ने क्रममा यातायात मन्त्री महासेठले छलफल गर्ने समयनै नदिएर नागरिकको ज्यानमाथि खेवलवाड गरेको स्मरण गराउँदै मन्त्री महासेठलाई तुरुन्त बर्खास्त गर्न समेत प्रधानमन्त्री ओलीसँग उनले जोडदार माग गरेकी हुन् ।

यातायात मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयमा यातायात सुरक्षालाई उच्च प्राथमिकता दिने व्यक्तिलाई मात्र नियुक्त गर्न र सडक सुरक्षा विधेयक जति सक्दो चांडो संसदमा लैजान निर्देशन दिन पनि उनले प्रधानमन्त्री ओलीसँग आग्रह गरेकी छन् ।

‘ प्रधानमन्त्रीज्यूलाई अब हुने भनिएको मन्त्रीपरिषद पुनर्गठनमा यातायात मन्त्री रघुवीर महासेठलाई पद मुक्त गर्न, यातायात सुरक्षालाइ उच्च प्राथमिकता दिने सांसदलाई मात्र उक्त पदमा नियुक्त गर्न तथा सडक सुरक्षा विधेयक जति सक्दो चांडो संसदमा लैजान निर्देशन दिनुहुन आग्रह गर्दछु’, उनले भनेकी छन्, ‘आर्थिक चलखेलमा मात्र ध्यान दिने भनेर विवादमा आएका मन्त्री महासेठले गत वर्ष माघ महिनामा प्रतिनिधि सभामा भएको सार्वजनिक महत्वको सडक सुरक्षा विषयको प्रस्ताव माथि छलफल हुँदा दिएको वक्तव्यमा उनले १५ दिनमा यो गर्छु र १ महिनामा त्यो गर्छु भनेको कुरा संसदको रेकर्डमा सुरक्षित छ, ती कुरा यस १० महिनाको अवधिमा केही पनि पुरा नभएकोले उनले संसदलाई झूक्याएकाले त्यसलाई जनताको अपमानको रूपमा लिएको छु।’

प्रतिक्रिया दिनुहोस
Advertisement