काठमाण्डु- नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ मा अधिवेशनका क्रममा बुधबार भएको झडपमा संलग्नमाथि सह-महामन्त्री डा. डिला संग्रौलाले कारबाही माग गरेकी छन्।
नेताहरू क्षेत्रीय सभापति देवराज तामाङसहितमाथि उनले सार्वजनिक वक्तव्य नै निकालेर कारबाही माग गरेकी हुन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को अधिवेशनस्थलमा भएको झडपपछि कांग्रेस संग्रौलाले तामाङसहित संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरेकी हुन्।
बुधबार सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिग्देल बन्धु सामुदायिक भवन, बाँसबारीमा मनोनयन दर्ताको तयारी भइरहेका बेला प्रतिनिधिको नामावलीलाई लिएर विवाद भएपछि दुई पक्षबीच झडप भएको थियो। घटनामा केही नेता–कार्यकर्ता घाइते भएका छन्।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संग्रौलाले विज्ञप्तिमार्फत तामाङद्वारा परिचालित समूहले आफू, क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तवदार, चेतराज रेग्मी तथा युवा समुन्द्र पोखरेललगायत उम्मेदवारी दर्ताका लागि उपस्थित व्यक्तिमाथि आक्रमण गरेको आरोप लगाएकी छन्।
उनले घटनामा केही व्यक्ति गम्भीर घाइते भएको उल्लेख गर्दै घाइते कार्यकर्ताको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
‘लोकतान्त्रिक व्यवस्थामा अराजकता, अनुशासनहीनता तथा हिंसाका लागि कुनै स्थान हुँदैन,’ संग्रौलाले विज्ञप्तिमा भनेकी छन्, ‘यस्ता अराजक, उच्छृङ्खल तथा हिंसात्मक गतिविधिमा संलग्न र त्यस्ता गतिविधिका लागि उक्साउने देवराज तामाङलगायत सम्बन्धित व्यक्तिमाथि आवश्यक छानबिन गरी प्रचलित कानुन तथा पार्टीको विधानबमोजिम कारबाही गर्नुपर्छ।’
संग्रौलाले निर्वाचनका लागि वैकल्पिक व्यवस्था गर्न तथा स्थगित निर्वाचन प्रक्रिया यथाशीघ्र सुचारु गर्न कांग्रेस सभापति र केन्द्रीय निर्वाचन समितिसमक्ष माग गरेकी छन्।
यसअघि अधिवेशनस्थलमा प्रतिनिधिको नामावलीमा एक महिलाको नाम समावेश नभएको विषयबाट विवाद सुरु भएको थियो। माइन्युट लेख्ने क्रममा ती महिलाले आफ्नो नाम नपरेको विषय उठाएपछि विवाद चर्किएको र त्यसपछि कुटपिट तथा तोडफोड भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार झडपमा केही नेता–कार्यकर्ता घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।
झडपका क्रममा करिब पाँच दर्जन कुर्सी तोडफोड भएको र मनोनयन दर्ता प्रक्रिया प्रभावित भएपछि निर्वाचन प्रक्रिया रोकिएको थियो।
मोरङ–६ कांग्रेस नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र हो। कोइराला यस अधिवेशनमा तटस्थ भूमिकामा रहेको बताइएको छ।
यसअघि मंगलबार मोरङ–१ को क्षेत्रीय अधिवेशनका क्रममा क्षेत्रीय सभापतिका उम्मेदवार देवराज चाम्लिङ राई र मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू पक्षबीच पनि विवाद भएको थियो।
लगातार दुई दिन क्षेत्रीय अधिवेशनमा विवाद र झडप भएपछि अधिवेशनस्थलको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ।




प्रतिक्रिया