गायिका सुनारको मोबाइल गायव, एक जना पक्राउ


काठमाण्डु – दोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन् । शनिबार राति ११ बजे काठमाण्डुको नेपालटारस्थित आफ्नै डेरामा उनी मृत अवस्थामा फेला परेकी हुन् ।

सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार हालै राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट घोषित भएकी थिइन् । उनले शुक्रबार आफू बाँच्न मुस्किल भएको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटससमेत लेखेकी थिइन् ।

सुनारको अनुसन्धानमा खटिएको प्रहरी टोलीले मृत्यु शंकास्पद देखिएको जनाएको छ । सुनारको मृत्यु भएको सूचना पाएलगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले विभिन्न पाटोहरुबाट घटनाको अनुसन्धान गरिरहेको छ ।

तर, अहिलेसम्मको अनुसन्धानले उनको मृत्यु शंकास्पद देखिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिए ।

अघिल्लो दिन सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइड नोट’ लेख्नु र भोलिपल्ट आफ्नै कोठामा मृत भेटिँदा पनि मोबाइल नभेटिनुले घटना शंकास्पद देखिएको अनुसन्धान अधिकारीको विश्लेषण छ ।

अनुसन्धानको क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । पक्राउ परेका सूर्य श्रेष्ठबाट अहिलेसम्म कुनै नयाँ तथ्य खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement