अन्तर्वार्ता

‘भारतमा बालेनले सीमा विवादको कुरा उठाउनुपर्छ, चुप बसेर समस्या समाधान हुँदैन’

‘भारतमा बालेनले सीमा विवादको कुरा उठाउनुपर्छ, चुप बसेर समस्या समाधान हुँदैन’

नेपाल–भारतका ४० संयन्त्र सक्रिय बनाउनु आवश्यक छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल र भारतबीच राजनीतिक, आर्थिक, व्यापारिक, पारवहन तथा सीमा सम्बन्धी विभिन्न विषयमा लामो समयदेखि छलफल हुँदै आए पनि कतिपय समस्या अझै समाधान हुन सकेका छैनन्। दुई देशबीच समस्या समाधान र आपसी सम्बन्धलाई थप व्यवस्थित बनाउन विभिन्न तहमा करिब ४० वटा संयन्त्र गठन गरिएका छन्। तर तीमध्ये कतिपय संयन्त्र लामो समयदेखि निष्क्रिय छन्। विशेषगरी सीमा विवाद, व्यापार, जलस्रोत तथा अन्य द्विपक्षीय विषयमा नियमित संवाद र छलफल हुन नसक्दा समस्या बल्झिँदै आएका छन्।

यही पृष्ठभूमिमा वालेन्द्र शाह प्रधानमन्त्री भएको आठ महिनापछि भारतको औपचारिक भ्रमणमा छन्। उनको यो भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ विश्वासको वातावरण निर्माण गर्ने अवसरका रूपमा हेरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा नेपालका राष्ट्रिय हित र द्विपक्षीय समस्याका विषय कसरी उठ्छन् भन्ने चासो पनि उत्तिकै छ।

परराष्ट्र मामिलाका जानकार डा. दिनेश भट्टराई प्रधानमन्त्रीको भारत भ्रमणको प्रारम्भिक संकेत सकारात्मक रहेको बताउँछन्। सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकारका रूपमा काम गरिसकेका भट्टराई नेपाल–भारत र नेपाल–चीन सम्बन्धका विषयमा गहिरो अध्ययन र रुचि राख्छन्।

उनका अनुसार प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दुई देशबीच गठन भएका करिब ४० वटा संयन्त्रलाई सक्रिय बनाउने विषयमा छलफल गर्नुपर्छ। सीमा विवादलगायत नेपालले भोगिरहेका समस्यालाई तथ्यका आधारमा स्पष्ट रूपमा राख्नुपर्छ। उमेर र अनुभवमा ठूलो अन्तर भए पनि दुई प्रधानमन्त्रीबीच विश्वास र समझदारीको वातावरण बन्न सके त्यसले समग्र कूटनीतिक सम्बन्ध सुधार्न सहयोग पुग्ने उनको विश्लेषण छ। प्रधानमन्त्री शाहको भारत भ्रमणका सन्दर्भमा परराष्ट्र मामिला जानकार डा. भट्टराईसँग काठमाण्डुपाटीका लागि ज्ञानु घिमिरेले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री वालेन्द्र शाह आठ महिनापछि भारत भ्रमणमा निस्कनुभएको छ। भ्रमणको पहिलो दिनले कस्तो सन्देश दिएको छ?

समग्र सन्देश त भ्रमण पूरा भएपछि मात्रै भन्न सकिन्छ। तर प्रारम्भिक संकेतको कुरा गर्दा सकारात्मक देखिन्छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्रीको पहिलो दिनको भ्रमण सफल देखिएको छ। उहाँ दिल्ली पुग्दा भारतीय राज्यमन्त्रीले स्वागत गर्नुभयो। विभिन्न समारोह आयोजना गरेर स्वागत गरिएको छ। बेलुकापख भारतका विदेशमन्त्री एस. जयशंकरले समेत भेटवार्ता गर्नुभयो। यो पनि सुखद पक्ष हो।

अहिलेसम्मका भेटघाट र कार्यक्रम हेर्दा भ्रमण पूर्वनिर्धारित योजनाअनुसार नै अगाडि बढेको देखिन्छ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सम्बन्धमा देखिएका सानातिना समस्याका विषयमा खुलस्त कुरा राख्नुपर्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अनुभवी नेता हुनुहुन्छ। उहाँको कुरा पनि सुन्नुपर्छ। तर आफूलाई कमजोर ठानेर होइन, तथ्यमा आधारित भएर आफ्ना कुरा प्रस्तुत गर्नुपर्छ।

भारत पुगेका प्रधानमन्त्रीले उठाउन छुटाउनै नहुने मुद्दाहरू के–के हुन्?

राष्ट्रिय हित र राष्ट्रिय स्वार्थका विषयमा कुरा गर्ने हो। प्रधानमन्त्री तयारीका साथ जानुभएको छ भन्ने कुरा उहाँको सचिवालय र अहिलेसम्मको अवस्थाले देखाउँछ। नेपालको हितमा हुने सबै विषय उहाँले उठाउनुहुन्छ भन्ने हामीले आशा गरेका छौँ।

यो भ्रमणमा सीमा विवादको विषयमा कस्तो किसिमको संवाद सुरु गर्नुपर्छ?

सीमा विवादको विषय कसरी वार्तामा प्रवेश गर्छ भन्ने मुख्य कुरा हो। नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तामा सीमासम्बन्धी विवाद कसरी उठ्छ र अन्य विषयमा कस्ता कुरा हुन्छन् भन्ने महत्वपूर्ण छ।

सीमा विवादका विषयलाई लिएर हामीले धेरै संवेदनशील हुनुपर्ने अवस्था पनि देखिँदैन। सीमाका विषय अलि जटिल हुन्छन्। एउटै बैठक वा भेटवार्तामा समाधान भइहाल्ने विषय पनि होइन। कम्तीमा सीमा क्षेत्रमा हाम्रा समस्या छन् भन्ने कुरालाई दुवै देशले स्वीकार गरेर वार्ता सुरु भयो भने पनि राम्रो हुन्छ।

त्यसका लागि एक, दुई, तीन, चार, पाँच वा १५–२० वटा बैठक पनि हुन सक्छन्। समाधानका लागि १५–२० वर्षसमेत लाग्न सक्छ। तर कम्तीमा त्यसको प्रक्रिया सुरु हुनुपर्छ। त्यसका लागि गठन भएका संयन्त्रहरूको बैठक सुरु भयो भने पनि धेरै समस्या समाधान गर्न सकिन्छ।

सीमा विवाद समाधान गर्न गठन भएका संयन्त्रहरूलाई सक्रिय पारेर तिनले काम गर्न थाले भने राम्रो हुन्छ। त्यसैले नेपाल र भारतका प्रधानमन्त्रीबीच भेट हुँदा यी संयन्त्रलाई सक्रिय बनाउने विषयमा पनि अनिवार्य छलफल हुनुपर्छ।

संयन्त्रहरूको बैठक नबस्दा पनि नेपाल–भारत सम्बन्धमा विभिन्न समयमा दरार आउने गरेको देखिन्छ। यसपटक त्यसलाई सुधार्न के गर्नुपर्छ?

हाम्रा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग पहिलो पटक भेटवार्ता गर्दै हुनुहुन्छ। हाम्रा प्रधानमन्त्री युवा हुनुहुन्छ। उहाँमा युवा जोश र जाँगर देखिन सक्छ। त्यसलाई संयमित ढंगले प्रस्तुत गर्नुपर्छ। प्रधानमन्त्री मोदी उमेर र अनुभवका हिसाबले उहाँभन्दा निकै वरिष्ठ हुनुहुन्छ भन्दैमा हाम्रा प्रधानमन्त्री झुक्नुपर्छ भन्ने होइन। तर आफ्ना कुरा तथ्यमा आधारित भएर राख्नुपर्छ।

दुई प्रधानमन्त्रीबीच पहिलो चरणमा एकले अर्कालाई चिन्ने र बुझ्ने काम हुन्छ। कसरी कुरा उठाउने र के गर्ने भन्ने विषय उहाँहरूले कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने महत्वपूर्ण हुन्छ। त्यसपछि विभिन्न संयन्त्रका विषयमा पनि छलफल हुनुपर्छ।

सीमा समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयका सचिवस्तरको एउटा संयन्त्र छ। त्यो संयन्त्र सन् २०१४ मा गठन भएको हो। तर अहिलेसम्म एउटा पनि बैठक बस्न सकेको छैन। सन् २०१४ मा गठन भएको संयन्त्र १२ वर्ष बितिसक्दा पनि बैठक बस्न नसक्नुले समस्या कहाँ छ भन्ने देखाउँछ।

सीमा क्षेत्रमा काम गर्ने एउटा संयन्त्र छ। बोर्डर वर्किङ ग्रुप भन्ने अर्को संयन्त्र पनि छ। जलस्रोतका विषयमा पनि छुट्टै संयन्त्र छ। यसरी नेपाल–भारत सम्बन्धमा देखिने समस्या समाधान गर्न विभिन्न विषय र तहमा करिब ४० वटा संयन्त्र गठन भएका छन्।

ती संयन्त्रहरूले समय–समयमा बैठक गरेर दुवै देशका आ–आफ्ना कुरा राख्दै छलफल गर्न सके समाधान निस्किन सक्छ। जुनसुकै समस्या भए पनि हामी छलफल र संवादमा बस्नुपर्छ। दुवै देशबीच समस्या छ भन्ने कुरालाई दुवै देशले स्वीकार गर्नुपर्छ।

सीमा समस्याको विषय नै उठेन भने समस्या छैन जस्तो गरी प्रस्तुत हुनु हुँदैन। चुप बसेर सीमा समस्या समाधान हुँदैन, बरु बल्झिँदै जान्छ। त्यसैले सीमाको विषय निकै होसियारीपूर्वक उठाउन जरुरी छ। एउटै बैठकले सबै कुरा समाधान हुन्छ भन्ने सोच्नु हुँदैन। कम्तीमा छलफलको प्रक्रिया सुरु भयो भने कुनै बैठकमा हामीले महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्छौँ।

१२ वर्षदेखि भारतको नेतृत्व गर्दै आउनुभएका नरेन्द्र मोदीको स्वभाव र कार्यशैलीबारे तपाईं केही हदसम्म परिचित हुनुहुन्छ। यो पटकको भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएका दरारहरू चिर्ने अवस्था छ?

नेपाल र भारत मात्र होइन, विश्व राजनीति नै अहिले तीव्र गतिमा परिवर्तन भइरहेको छ। यति छिटो परिवर्तन भइरहेको छ कि नेपाल, भारत, चीन र अमेरिकालगायत सबैजसो देशको राजनीतिमा नयाँ परिस्थिति देखिएको छ।

यस्तो परिवर्तित समयमा दुई देशका प्रधानमन्त्रीबीच भेट भएर एकअर्काप्रति विश्वासको वातावरण सिर्जना गर्न सक्नुभयो भने त्यसको प्रभाव तल्लो तहसम्म पनि पर्छ। विश्वास र समझदारी बढेपछि विभिन्न संयन्त्रहरू पनि सक्रिय हुन्छन्। विश्वासको वातावरण पैदा भयो भने समस्या समाधानको प्रक्रिया अगाडि बढ्छ।

उहाँहरूबीच भेट भएपछि विश्वासको वातावरण बनोस् र एकअर्काप्रति समझदारी स्थापित होस् भन्ने हाम्रो अपेक्षा हो। हामीले त्यसैको कामना र प्रतीक्षा गरिरहेका छौँ।

प्रधानमन्त्रीलाई भारतमा गरिएको स्वागत र व्यवहार हेर्दा यी सबै समस्याहरू समाधान हुने वा समाधानको दिशामा अगाडि बढ्ने संकेत देखिन्छ?

हो, त्यस्तो संकेत देखिन्छ। भारत पुग्दा हाम्रा प्रधानमन्त्रीलाई जुन रूपमा स्वागत गरियो, त्यो सकारात्मक छ। दिल्ली अहिले नेपाली राष्ट्रिय झण्डाले रङ्गिएको छ। यो पनि सुखद कुरा हो।

यहाँहरूले लेखेका समाचार पढ्दा र अहिलेसम्मका गतिविधि हेर्दा नेपाल–भारत सम्बन्ध सुधारका संकेत देखिएका छन्। भारतीय राज्यमन्त्री नै स्वागतका लागि आउनुले पनि सकारात्मक संकेत दिएको छ।

सोमबार हुने दुई प्रधानमन्त्रीबीचको एक्लाएक्लै भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफलले आगामी दिनको सम्बन्ध र सहकार्यका धेरै विषयको बाटो तय गर्नेछ।

प्रधानमन्त्रीले एउटा छिमेकी राष्ट्रको भ्रमण गर्नुभयो। अब अर्को छिमेकी राष्ट्र चीनको भ्रमण कहिले गर्नुपर्छ? तत्कालै जानुपर्छ कि पर्दैन?

उहाँ भारत जानुभयो भन्दैमा अब चीन गइहाल्नुपर्छ भन्ने अवस्था होइन। हाम्रा प्रधानमन्त्री चीन जाँदा त्यहाँका नेताहरूको पनि अनुकूल समय हुनुपर्छ र हाम्रा प्रधानमन्त्रीको पनि समय मिल्नुपर्छ। पर्याप्त तयारीबिना भ्रमणमा जाने कुरा भएन।

दुवै देशका लागि सहज हुने समयमा भ्रमण तय हुनुपर्छ। अहिले के–कस्तो वार्ता, पत्राचार र संवाद भइरहेको छ भन्ने कुरा हामीलाई थाहा छैन। त्यसैले त्यसैका आधारमा अनुमान गर्नु पनि ठीक हुँदैन। भारतबाट फर्किएलगत्तै चीन दौडिहाल्नुपर्छ भन्ने छैन।

उत्तरी छिमेकी चीन पनि हाम्रो शक्तिशाली मित्रराष्ट्र हो। ऊ हाम्रो महत्वपूर्ण मित्र हो र उसले हामीलाई सहयोग पनि गरिरहेको छ। त्यसैले हामीले चीनसँग पनि राम्रो सम्बन्ध राख्नुपर्छ र भारतसँग पनि राम्रो सम्बन्ध कायम गर्नुपर्छ।