सहकारी ठगी प्रकरणमा दीपेश पुन ४ लाख धरौटीमा रिहा


काठमाण्डु – रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई अदालतले धरौटीमा रिहा गरेको छ ।

आज शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतमा ३ दिन भएको बयान र थुनछेक बहसपछि धरौटीमा छाड्न आदेश दिएको छ । दीपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।

अदालतले १ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने पुनसहित ६ जनालाई धरौटीमा रिहा गरेको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए ।

सुप्रिम सहकारीका बचतकर्ता १ हजार ८३१ जनाले आफूहरूको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए । बचतकर्ताको दाबीअनुसार सहकारीले करीब १ अर्ब रुपैयाँ अपचलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement