काठमाण्डु – नेपालको वर्तमान राजनीतिक परिदृश्य, प्रधानमन्त्री बालेन शाहको नेतृत्व र बदलिँदो भूराजनीतिक अवस्थाबारे विश्वका विभिन्न मुलुकका कूटनीतिज्ञ र विज्ञहरूले चर्चा गरेका छन् ।
‘नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेन्ट’ (एनआईआईसीई) ले बुधबार आयोजना गरेको विशेष वेबिनारमा २५ देशका २६ जना विज्ञहरूले नेपालको नयाँ राजनीतिक शक्तिको उदय र यसले क्षेत्रीय सम्बन्धमा पार्ने प्रभावबारे आफ्ना दृष्टिकोण राखेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरनले अब भारत र नेपालको सम्बन्धलाई नयाँ ढङ्गले पुन:परिभाषित गर्ने समय आएको बताए । उनले भारतले नेपालको नयाँ नेतृत्वलाई समर्थन गर्नुपर्नेमा जोड दिँदै दुवै देशका युवाहरूले साझा भविष्य निर्माण गर्न सकून् भन्ने उद्देश्यका साथ विद्यार्थी आदानप्रदान, व्यापार र विचारको प्रवाहलाई सुदृढ गर्नुपर्ने औंल्याए ।
‘वर्तमान विश्वव्यापी तनावबिच क्षेत्रीय सहकार्य अनिवार्य छ, वैमनस्य वा शंका होइन,’ सरनले भने, ‘नेपालको तीव्र विकासले क्षेत्रीय स्थायित्व र शान्तिमा समेत ठुलो योगदान पुर्याउँछ ।’
चीनका प्रोफेसर तथा पूर्व कूटनीतिज्ञ डा. चाङ चियाडोङले नेपालको वर्तमान नेतृत्वलाई युवा शक्ति र राष्ट्रिय परिवर्तनको प्रतीकका रूपमा चित्रण गरे । उनले बालेन शाह नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी आन्दोलन र सकारात्मक परिवर्तनका लागि देखाएको सक्रियताको प्रशंसा गर्दै चीनले नेपालको सार्वभौमिकता र स्थायित्वलाई सधैँ समर्थन गर्ने बताए ।
चिनियाँ विज्ञ चियाडोङले बालेन सरकारसँग बीआरआई अन्तर्गतका सीमा–पार सडक, ऊर्जा सहकार्य र जनस्तरको सम्बन्ध विस्तारमा चीनले थप सहकार्य गर्ने सम्भावना रहेको औंल्याए ।
संयुक्त राज्य अमेरिकाको प्यासिफिक फोरमका क्षेत्रीय मामिला निर्देशक डा. रोब योर्कले नेपालले चीन र भारतबिच अपनाएको सन्तुलनकारी नीतिलाई व्यावहारिक आवश्यकताका रूपमा व्याख्या गरे । उनले अमेरिकाले नेपालमा अल्पकालीन राजनीतिक खेलभन्दा दीर्घकालीन स्थायित्व र सक्रिय संलग्नतालाई प्राथमिकता दिने स्पष्ट पारे ।
बंगलादेश इन्डो–प्यासिफिक मामिला केन्द्रका कार्यकारी निर्देशक डा. साहब इमान खानले नेपालको नयाँ सरकारको कार्यक्षमता र निर्वाचनपछिको राजनीतिक गतिको प्रशंसा गरे । उनले नेपालमा नयाँ राजनीतिक शक्तिहरू आगामी दिनमा अझै बलियो भएर आउने विश्वास व्यक्त गरेका छन् ।
छलफलमा सहभागी जापान, भुटान लगायतका देशका विज्ञहरूले पनि नेपालको विकसित राजनीतिक वातावरणले दक्षिण एसियाकै शक्ति सन्तुलनमा नयाँ आयाम थप्न सक्ने विश्लेषण गरेका थिए । नेपालमा परम्परागत शक्तिलाई विस्थापित गर्दै उदय भएका नयाँ शक्तिहरू र बालेन शाहको शासन व्यवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायले देखाएको चासोलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।




प्रतिक्रिया