सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय


काठमाण्डु – नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टी सचिवालय बैठकले दल नेता सोडारीको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा संकट आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार भएका थिए । एकीकृत समाजवादीका दल नेता सोडारीले बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरे पनि एमाले सांसदहरूको समर्थन नपाउँदा रोकिएका थिए ।

सुदूरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्र रावलले सरकार गठनबारे पार्टी नेतृत्वले कुनै निर्देशन नदिएको बताए ।

सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादीका ४ सासद छन् । सोडारीले एमालेका १०, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ सांसदको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि बुधबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement