मुख्यमन्त्री भट्टले मर्यादा बिर्सिएको दिन


दीर्घराज उपाध्याय

महाभारतको युद्धको तयारी हुदै थियो । पाण्डव र कौरव दुबै आआफ्ना पक्षमा शक्ति जुटाउन अहोरात्र खटिएका थिए । त्यही क्रममा आफ्ना पक्षमा समर्थन जुटाउन अर्जुन कृष्णको घरमा पुग्छन । संयोग पनि कस्तो त्यही समयमा दुर्योधन पनि कृष्णको घरमा पुग्छन । दुर्योधन र अर्जुन त्यहाँ पुग्दा कृष्ण भने सुतिरहेका हुन्छन ।

सुतिरहेका कृष्णको निन्द्रा खुलेपछि उनलाई आफ्नो पक्षमा पार्ने मनशायका साथ दुर्योधन कृष्णको सिरानी अगाडि बस्छन् । अर्जुन भने गोड्यानमा बस्छन । दुर्योधनले सोचेका थिए, कृष्ण उठ्ने बित्तिकै आफूलाई देख्नेछन् । र, अर्जुन भन्दा पहिले कृष्णलाई आफ्ना कुरा राख्ने अवसर प्राप्त हुनेछ ।

तर निन्द्राबाट व्युझिएका कृष्णको पहिलो नजर भने गोड्यानमा रहेका अर्जुनमाथि प¥यो । त्यसपछि दुर्योधनमाथि ।
दुबै जना अचानक एक साथ आएको देखेपछि कृष्णले त्यसको कारण सोधे । दुबैले एक साथ आग्रह गरे– मलाई तपाईको साथ चाहियो ।

कृष्णले पहिलो प्रश्न दुर्योधनलाई गरे– एकातिर मेरो करोडौ सेना छ । अर्कोतिर म एक्लै । भन कसलाई रोज्छौ ?
दुर्योधनले एक सासमा भने, मलाई तपाईको सेना चाहियो ।
कृष्णले हाँसेर हुन्छ भनिदिए ।
अर्जुनले त नमागेरै कृष्ण पाए ।

बुद्धिमा बिर्को लागेपछि मान्छेले संख्या, तागत र पदलाई सबैभन्दा माथि राखेर सोच्छ । त्यो सोच उसको व्यवहारमा प्रकट हुन्छ ।

र, शक्तिको दम्भले मैमत्त हुन्छ । उसले आफ्नो पृष्ठभूमि, आफ्नो धरातल र आफूलाई त्यो पदमा पुग्न सहयोग गर्नेहरुलाई बिर्सिन्छ । र उसको अभिमानले भन्छ–म आफ्नै योगदान, क्षमता र मिहिनेतले यो स्थानमा आईपुगेको हो । कसैले दया गरेर मलाई यो पद दिएको होईन ।

मुख्यमन्त्री भट्टले केही साताअघि टेलिभिजन अन्तर्वार्तामा आफूलाई कसैले नबनाएको, आफ्नै योगदान र क्षमताले मुख्यमन्त्री बनेको बताईरहदा, त्यहाँ उनी होईन, उनको दम्भ बोलिरहेको प्रष्ट हुन्थ्यो ।

त्यसो भए प्रदेश सभामा रहेका पूर्व नेकपाका ३९ जना सांसदको पार्टी, राजनीति र जनता माझ कुनै योगदान नै थिएन त ?
आबधिक निर्बाचिन मार्फत निर्बाचित भएको समेत बिर्सिएका भट्टले अन्तर्वार्ताका क्रममा मुख्यमन्त्री पद स्थायी झै सम्झिदै आफ्नो पद सुरक्षित रहेको र कसैले हल्लाउन नसक्ने घोषणा समेत गर्न भ्याए ।

बजेट घोषणाका लागि गएको भुकम्प र त्यसैसंग जोडिएर बेला बेलामा आईरहने पराकम्पबाट झस्किरहने मुख्यमन्त्रीले अन्तर्वार्ताका क्रममा बोलीमा दम देखाएपनि अनुहारको डर भने लुकाउन सकिरहेका थिएनन ।

मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन स्वागत गरेनन ? किन उनले प्रधानमन्त्रीलाई भेट्न चाहेनन ?

माथिका केही तथ्यहरुलाई फर्केर हेर्ने हो भने पनि त्यसको कारण पत्ता लगाउन कठिन हुने छैन । ओलीको प्रधानमन्त्री पदको आयु बढिमा ६ महिना त हो । मेरो पद स्थायी हो, मुख्यमन्त्री भट्टले यस्तै ठाने । र प्रधानमन्त्रीसंग उनले त्यस्तो व्यवहार गरे ।

कतिपयको कुतर्क छ–संबिधान मिच्ने प्रधानमन्त्रीलाई मुख्यमन्त्रीले नभेटेर ठिक गरे ।

माधव–प्रचण्ड समूहका कतिपय कार्यकर्ताहरुको तर्क थियो–आमसभा सम्बोधन गर्न आएका नेकपाका अध्यक्ष ओलीको स्वागतमा मुख्यमन्त्री भट्ट किन जानु ?

प्रधानमन्त्री ओलीले संबिधान मिचे वा मिचेनन ? त्यसको फैसला अदालतले गर्नेछ । किनकी संसद बिघट्नको मुद्दा अदालतमा बिचाराधीन छ ।

यदि ओली कुनै पार्टीको अध्यक्ष भएकै कारण स्वागत योग्य नठहरिएका हुन भने मुख्यमन्त्री भट्टलाई पनि यसैगरी नेकपा, नेपाली काँग्रेस, राजपा, राप्रपा लगायतका पार्टीहरुले बहिस्कार वा अस्वीकार गर्दा के हुन्छ ? त्यसले निम्तिने परिणामका लागि के मुख्यमन्त्री तयार छन् ?

भारतीय जनता पार्टीबाट निर्बाचित नरेन्द्र मोदी भारतका प्रधानमन्त्री छन् । भाजपालाई हराएर दिल्लीमा आम आदमी पार्टीका अरविन्द केजरीवालले शासन गरिरहेका छन् । दुबै पार्टीका नेताहरुका बीचमा घमासान बैचारिक लडाई छ ।

मोदी नेतृत्वको केन्द्रीय सरकारका बिरुद्ध मुख्यमन्त्री केजरीवालले निरन्तर रुपमा आवाज उठाउदै आएका छन् । यद्दपि जव प्रधानमन्त्री मोदी आउछन् । तव केजरीवालले मोदी भाजपाका नेता हुन भन्ने कुरा बिर्सिन्छन । र मोदीलाई प्रधानमन्त्रीका रुपमा स्वागत गर्छन । र त्यही रुपमा सम्मान पनि गर्छन ।

यो हो, राजनैतिक संस्कार । मोदी र केजरीवाल दुबै फरक पृष्ठभूमिबाट आएका हुन् । उनीहरुको न बिचारधारा मिल्छ । न त सोच ।

केजरीवालबाट अलिकति भएपनि राजनैतिक संस्कार सिकेको भए मुख्यमन्त्री भट्टले प्रधानमन्त्री ओलीसंग यस्तो व्यवहार गर्दैनथे ।

प्रधानमन्त्री ओली र मुख्यमन्त्री भट्टका बीचमा धेरै समानता छन् । उनीहरु दुबै जना एउटै पृष्ठभूमि र समान बिचारधाराबाट निर्बाचित भएका हुन् ।

हिजो पार्टीको भेला र प्रशिक्षणका लागि आउदा तिनै प्रधानमन्त्रीलाई स्वागत गर्न फुलका माला लिएर बिमानस्थलमा लाईन लाग्ने मुख्यमन्त्री भट्टले यस पटक सामान्य शिष्टाचारसम्म निर्बाह गरेनन ।

केपी ओली एउटा व्यक्ति वा कुनै पार्टीको अध्यक्षका रुपमा मात्र हेरिनु मुख्यमन्त्री भट्टको दृष्टिदोष हो । त्यसैगरी मुख्यमन्त्री भट्टलाई अरुले हेर्न थाले त्यसबाट निम्तिने परिणामको उनले रत्तिभर ख्याल गरेनन ।

व्यबहारबाट व्यक्तिको सोच प्रकट हुन्छ । यो नबोलेरै प्रकट हुने चिज हो । मुख्यमन्त्रीको व्यबहारबाट उनको संकीर्ण सोच प्रकट भएको छ ।

आफ्नो बिचारसंग असहमत हुनेहरुको मतको सम्मान गरिने व्यवस्था नै लोकतन्त्र हो ।

आफ्नो घरमा दुस्मन आउदा पनि बास दिने अतिथिदेवो भवःको त्यो संस्कारमा हुर्किएका हामी नेपाली । मुख्यमन्त्रीले अतिथिदेवो भवः बिर्सिए ।

महाभारतको लडाईमा कौरव र पाण्डवलाई साथ दिन बिभिन्न देशका राजाहरु आफ्ना सेना सहित आईरहेका थिए । दुर्योधनलाई सूचना मिल्यो कि, राजा शल्य आफ्ना भाञ्जा पाण्डवहरुलाई सहयोग गर्न लाखौ सेना सहित आउदैछन् । दुर्योधनले त्यसको जानकारी पाएपछि बाटोभरी शल्यको भव्य स्वागत गरे । शल्यले सोचे ओहो, भाञ्जाहरुले कति भव्य स्वागत गरे ।

पछि मात्र थाह पाए कि त्यो स्वागत त दुर्योधनले गरेका थिए । शल्य त्यो भव्य स्वागतबाट यति धेरै प्रभावित भए कि उनले दुर्योधनलाई सोधे भन मबाट तपाईले के अपेक्षा गर्नुहुन्छ ।

दुर्योधनले भन्छन्–महाभारतको लडाईमा हामीलाई तपाईको साथ चाहियो ।

बचनमा बाधिएका शल्यले हुन्छ भनिदिए । शल्य जसका बिरुद्ध युद्ध लड्न आएका थिए, एउटा स्वागतले त्यसैका पक्षमा युद्ध लड्न जारी भए । धर्मयुद्धका रुपमा चिनिने महाभारतमा सत्य पक्षधर पाण्डव, जो राजा शल्यका साख्खै भाञ्जा थिए, तिनकै बिरुद्ध लड्न बिबश भए ।

एउटा स्वागतको अर्थ र त्यसले पार्ने प्रभाव कति महत्व राख्छ,यो एउटा उदाहरण हो ।

प्रधानमन्त्रीको कार्यक्रमबारे र उनको आगमनको समय तालिका बारे मुख्यमन्त्रीलाई जानकारी थिएन भने उनी कस्ता मुख्यमन्त्री हुन् ? जसलाई आफ्नो प्रदेशमा आउने बिशिष्ट व्यक्तिका बारेमा जानकारीसम्म दिईएन । त्यो जानकारी नदिने अधिकारीहरुलाई तत्काल कारबाही गरिनुपर्छ ।

होईन, सबै कुरा जानकारी भएर नगएका हुन भने मुख्यमन्त्री भट्ट पदमा बसिरहन योग्य छैनन । यदि कसैले तर्क गर्छन कि मुख्यमन्त्री भनेको व्यक्ति होईन, संस्था हो । एउटा संस्था पार्टीको आमसभाका प्रमुख वक्ताको स्वागतमा कसरी जान सक्छन ? यस्तो कुर्तक गर्नेहरुले यो पनि बिर्सिन हुदैन, प्रधानमन्त्री भनेको पनि व्यक्ति होईन, संस्था हो । अझ देशको प्रमुख कार्यकारी हो । जसको अपमान गर्ने अधिकार मुख्यमन्त्री पदलाई कसले दियो ?

देशको अभिभावक प्रधानमन्त्री हुन् । सुदूर पश्चिमको अभिभावक मुख्यमन्त्री । आफ्नो प्रदेशमा देशको अभिभावक जुनसुकै काम र प्रयोजनका लागि आएको भएपनि उसको स्वागत गर्नु मुख्यमन्त्रीको कर्तव्य र जिम्मेवारी दुईटै हो ।

राजनैतिक प्रतिशोधमा मुख्यमन्त्री भट्ट कर्तव्य र जिम्मेवारी दुईटैबाट च्यूत भए । खुला हृदयले प्रधानमन्त्रीको स्वागत गर्नबाट मुख्यमन्त्री भट्ट चुकेकै हुन् । यसलाई उनले आफ्नो बहादुरी ठानुन वा जायज व्यवहार ।

लोकमान सिंह कार्की कहाँ छन् यतिबेला ? कस्तो जीवन बाँचिरहेका छन् ? त्यो शान र बैभव कहाँ गयो ?

पद अस्थायी हो । जीवन त धेरै लामो छ । पद पछिको जीवन अझै महत्वपूर्ण छ । त्यो जीवनमा समाजलाई आफूसंग जोडिरहने गरी कर्म गरेन भने सञ्चो बिसञ्चो सोध्ने पनि कोही हुदैनन । यसको सबैले हेक्का राख्न जरुरी छ ।

कन्फ्युसियसले जीवनको अन्तिम घडीमा शिष्यलाई एउटै अर्ति दिए–जिब्रो झै नरम हुनु । दात झै कडा नहुनु ।

जिब्रो जन्मसंगै प्राप्त हुन्छ । मृत्युमा पनि साथ हुन्छ । जन्मपछि प्राप्त हुने दात भने त्यसको कडा स्वभावकै कारण मृत्यु अघि नै झरिसकेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement