विपद् जोखिम न्यूनिकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्रीको सशस्त्रलाई निर्देशन


काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद् व्यवस्थापन कार्य एकल प्रयासले मात्र सम्भव नहुने बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा संचालन हुने पिर रिजनल एमएफआर कोर्सको उद्घाटन गर्दै मन्त्री थापाले अन्तर्राष्ट्रिय स्तरको तालिमले दक्ष जनशक्ति उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री थापाले सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा प्रदर्शन गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा हुनसक्ने विपद् जोखिम न्यूनिकरणका लागि गम्भिरतापूर्वक पूर्व तयारी गर्न निर्देशन दिए ।

सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनलाई प्राप्त विपद् व्यवस्थापनको जिम्मेवारीलाई संगठनले महत्वका साथ लिई विगत लामो समयदेखि तालिम शिक्षालय स्थापना गरेर दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताए । उनले २०७२ सालको भूकम्पको बेला तथा अन्य विभिन्न विपद्को समयमा समेत शसस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराए ।

समारोहमा सो शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ई. किशोर प्रधानले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै सो शिक्षालयको विविध पक्षहरुबारे जानकारी गराएका थिए ।

तालिममा अफगानिस्तानका ४ जना, भुटानका ४ जना, माल्दिभ्सका ५ जना, श्रीलंकाका ५ जना र नेपालका ६ जना गरी कूल २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement