काठमाण्डु- नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ । आउने स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर एमालेले ‘पार्टी जागरण अभियान’ पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकेको हो ।
यही जेठ ११ गते सम्पन्न एमालेको सचिवालयको बैठकले कार्यविभाजनको प्रस्तावलाई अन्तिम रुप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई अधिकार दिएको थियो ।
अध्यक्ष ओलीले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै यो अभियान घोषणा र पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्यविभाजन पठाएको हो । कार्यविभाजनमा जिल्ला इन्चार्ज र जनसङ्गठनका इन्चार्जपनि तोकिएको छ ।
कार्यविभाजनअनुसार अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले पार्टीको सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ । उपाध्यक्ष र उपमहासचिवहरुलाई पार्टीका विभाग तथा फाँटहरुको संयोजनको जिम्मेवारी दिइएको छ । नौमध्ये छ सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।
कोशीका लागि सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वययंसेवा विभागको प्रमुख, सचिव पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र सचिव भानुभक्त ढकाललाई सङ्गठन विभाग प्रमुख तोकिएको पार्टी कार्यालयले जनाएको छ ।
अन्य सचिवहरू छविलाल विश्वकर्मालाई लुम्बिन इन्चार्ज, खगराज अधिकारीलाई गण्डकी, यमलाल कँडेललाई कर्णाली, शेरधन राईलाई कोशी, डा. राजन भट्टराईलाई राजधानी विशेष प्रदेश र महेश बस्नेतलाई बागमती प्रदेशको इन्चार्ज तोकिएको छ । कार्यविभाजनअनुसार एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुखमा निरज आचार्यलाई तोकिएको छ ।




प्रतिक्रिया