दीपावलीको रात भारतका विभिन्न सहरमा जलेर २२ जनाको गयो ज्यान

दीपावलीको रात भारतका विभिन्न सहरमा जलेर २२ जनाको गयो ज्यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली- दीपावलीको रात भारतका विभिन्न सहरमा पटाका र अन्य कारणले भएका आगलागीमा २२ जनाको मृत्यु भएको छ। यी घटनामा अन्य धेरैजना घाइते भएका छन् । केही अझै बेपत्ता अवस्थामा छन्।

सबैभन्दा धेरै मृत्यु मध्यप्रदेश राज्यमा भएको छ। त्यहाँ दुई छुट्टाछुट्टै घरमा आगलागी हुँदा १२ जनाको ज्यान गएको छ।

महाराष्ट्रको धाराशिव जिल्लामा किराना पसलमाथिको घरमा बस्दै आएको एउटै परिवारका छ जनाको मृत्यु भएको छ। मुम्बईको लोखन्डवालामा भएको अर्को आगलागीमा पनि एक जनाको ज्यान गएको छ।

राजस्थानको पालीमा पटाका पसलमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन्। आगलागीमा तीनवटा पसल र कैयौँ दुईपाङ्ग्रे सवारीसाधन जलेका छन्। दिल्लीको नरेला क्षेत्रमा रकेट पटाका पेटमा लागेपछि १० वर्षीय बालकको मृत्यु भएको छ।

मध्यप्रदेशमा मृत्यु हुने पाँच महिला, तीन पुरुष र चार बालबालिका

महाराष्ट्रको धाराशिवमा एउटै परिवारका छ जनाको मृत्यु हुँदा ध्यप्रदेशको सिवनी र कटनी जिल्लामा १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मध्येप्रदेशको कटनी जिल्लामा घरमा आगलागी हुँदा एउटै परिवारका छ जनाको मृत्यु भएको छ। मृतकमा तीन बालबालिका छन्। तीमध्ये एक जना दुई महिनाका शिशु थिए।

सिवनी जिल्लामा सुनचाँदीका व्यापारीको घरमा आगलागी हुँदा थप छ जनाको ज्यान गएको छ। मृतकमध्ये १६ वर्षीय किशोर पनि छन्।

उत्तरप्रदेशको बाँदामा कबाड पसलमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। पुणेमा आगलागीका ६३ घटना भएका छन्। ती घटनामा मानवीय क्षति भएको खबर छैन।

जम्मुको नेहरू मार्केटमा आगलागीबाट १२ भन्दा बढी पसल जलेका छन्। नागपुरको टीभीएस शोरुममा आगलागी हुँदा कैयौँ दुईपाङ्ग्रे सवारीसाधन जलेका छन्।

उता मुम्बईको डोंगरी क्षेत्रमा आगलागी हुँदा कैयौँ पसल र झुपडी जलेका छन्। दादरस्थित कामगार स्टेडियममा लागेको आगो दमकलकर्मीले १७ मिनेटमै नियन्त्रणमा लिएका थिए। महाराष्ट्रको ठाणेमा १७ तले भवनमा आगलागी भए पनि कसैलाई चोटपटक लागेको खबर छैन।

यसैगरी असमको जोनाई, पुणेको वडगाउँ शेरी, मुम्बईको विद्याविहार, सिक्किमको गान्तोकस्थित सरकारी आवास र गाजियाबादको क्रसिङ रिपब्लिक क्षेत्रमा पनि आगलागीका घटना भएका छन्। घटनापछि दमकल विभाग र प्रहरी टोली राहत तथा उद्धार कार्यमा खटिएका थिए।