सप्तरी – नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को ३७औँ स्थापना दिवसका अवसरमा सप्तरीमा २ वरिष्ठ अधिवक्तासहित ३ जना सम्मानित भएका छन् ।
डीएलए सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको कार्यक्रममा ५ दशकभन्दा बढी समयदेखि कानुन व्यवसायमा संलग्न रही न्याय क्षेत्रमा योगदान पुर्याएका वरिष्ठ अधिवक्ताद्वय हिम्मत सिंह र अमरबहादुर पाण्डे तथा २ दशकदेखि कानुन व्यवसायमा सक्रिय राजविराज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष हरेराम यादवलाई सम्मान गरेको हो ।
वरिष्ठ अधिवक्ताद्वय सिंह र पाण्डेलाई डिएलए सप्तरीका अध्यक्ष सुरेन्द्र यादव र राजविराज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष यादवले संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मान गरे । त्यसैगरी बार एसोसिएसनका अध्यक्ष यादवलाई वरिष्ठ अधिवक्ता सिंहले सम्मान गरेका छन् ।
वरिष्ठ अधिवक्ता सिंहले सर्वसाधारणलाई निष्पक्ष न्यायको प्रत्याभूति दिलाउन तथा लोकतन्त्रको सुदृढीकरणमा डिएलएले स्थापनाकालदेखि नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
कार्यक्रम डीएलए सप्तरीका अध्यक्ष सुरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता अमरबहादुर पाण्डे, कृष्णानन्द देव, बोधकृष्ण भगत, नारायण झा, रामजी साह, डा. देवनारायण यादव, इन्द्रदेव सिंह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि डीएलए सप्तरीले स्थापना दिवसका अवसरमा राजविराजका विभिन्न भागको परिक्रमा गर्दै प्रभातफेरी आयोजना गरेको थियो ।



प्रतिक्रिया