घुम्न गएका चिकित्सक कोरोना भाइरसले चीनमा अलपत्र

घुम्न गएका चिकित्सक कोरोना भाइरसले चीनमा अलपत्र


बेइजिङ – चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन्। चीनले हुपेई प्रान्तको सदरमुकाम वुहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्कन नपाउने भएका हुन्।

झापाको दमकस्थित लाइफलाइन अस्पातलका शल्य चिकित्सक रहेका उनी डिसेम्बर १० मा सात वर्षीया छोरी स्मारिकालाई लिएर चीन घुम्न आएका थिए। डा. भट्टराईको फर्कने टिकट जनवरी ३० तारिखको थियो। दुई महिने भिसामा आएका उनको भिसा अवधि पनि फेब्रुअरी ९ मा सकिँदैछ। भट्टराईको फर्कने कार्यतालिकाभन्दा एक साताअगाडि चीन सरकारले हुपेई प्रान्तलाई सिल्ड गरेको थियो।

डा. भट्टराईकी पत्नी जानुका भुसाल वुहाननजिकैको चिङचौ सहरस्थित याङ्चे विश्वविद्यालयमा स्त्री तथा प्रसूति रोग विषयमा एमडी गर्दैछिन्। उनले नै जाडो बिदा पारेर पति र छोरीलाई चीन घुम्न बोलाएकी थिइन्। आगामी सेप्टेम्बरमा एमडी सकिने र खोज तथा अनुसन्धानमा निकै व्यस्त हुनुपर्ने भएकाले त्यसअघि नै चीन घुमाउने विचार गरेर उनले पति र छोरीलाई बोलाएकी थिइन्।

कोरोना भाइरसका कारण कोठामै थुनिनुपरेपछि आफूहरू उकुसमुकुस भएको डा. भट्टराईले नागरिकलाई बताए। ‘हुपेईबाट कतै बाहिर जान पाइन्न। कहिलेसम्म यसरी थुनिएर बस्नुपर्ने हो ?’ उनले भने, ‘साथमा सानी छोरी पनि छे। आफ्नो नेपालको काम पनि चौपट हुने भयो।’ उनका अनुसार वुहानबाट अहिलेसम्म अमेरिका, कोरिया, बंगलादेश, श्रीलंका, जापान, भारतलगायत देशले आफ्ना नागरिक उद्धार गरेर स्वदेश फिर्ता गरिसकेका छन्। दक्षिण एसियाली एक मात्र मुलुक पाकिस्तानले चीनलाई सदावहार अभिन्न मित्र मान्दै चीनको क्षमता र दक्षतामा विश्वास लागेकाले आफ्ना नागरिकको उद्धार नगर्ने बताइसकेको छ।

तर अन्य विभिन्न देशले आफ्ना नागरिकलाई उद्धार गरेर लगेपछि नेपाली विद्यार्थीमा मानिसक दबाब र त्रास बढेको छ। त्यसमाथि नेपालबाट आफन्तले जसरी पनि आउनू भन्दा झनै तनाव हुने गरेको भुसालले बताइन्। हुपेई प्रान्तमा मात्र दुई सयको हाराहारीमा नेपाली विद्यार्थी छन्।यो समाचार आजको नागरिक दैनिकमा छ ।