चिकित्सकको हडतालले बिरामी अलपत्र !


काठमाडौं – एक्सरे गरेर हेर्दा आन्द्रामा गाँठो देखिएपछि शल्यक्रियाका लागि सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाका ७० वर्षीय बलराम नेपाली काठमाडौैं आएका थिए। डाक्टरले शुक्रबारको समय दिएका थिए। तर शुक्रबारदेखि नै समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै अपरेसन गर्ने चिकित्सक हडतालमा उत्रिएपछि उनको शल्यक्रिया हुन सकेन।

सिन्धुपाल्चोकबाट छोरासहित आएका बलराम सोमबार पनि वीर अस्पताल परिसरमा चिकित्सकहरू काममा फर्केर आउने समय कुरिरहेको भेटिए। शल्यक्रियाका लागि वीर अस्पताल धाउनु नेपाली बाबु–छोराको दिनचर्या बनेको छ। जटिल किसिमको रोग देखिएकाले जसरी भए पनि अपरेसन गरेर मात्र घर जाने भन्दै उनीहरू शुक्रबारदेखि हरेक दिन ३ बजेसम्म वीर अस्पतालको प्रतीक्षालयमा बसेर बेलुका आफन्तको शरणमा बास बस्न जाने गरिरहेका छन्। उपचार नगरी घर नफर्कने अठोटका साथ वीर अस्पताल धाइरहेका बाबु–छोरा डाक्टरको हडताल छिटै अन्त्य भए हुन्थ्यो भन्ने अपेक्षामा छन्। निजी अस्पतालमा उपचार गर्न आर्थिक हैसियत नभएकाले सरकारी अस्पतालको मुख ताक्नुपरेको उनीहरू बताउँछन्।

जुम्ला सिञ्जाबाट घुँडाको उपचार गर्न काठमाडौं आएकी मुगा वडको पीडा पनि बलरामको भन्दा कम छैन। घुँडा दुख्ने समस्याले सताएपछि उनी उपचारका लागि पतिलाई लिएर काठमाडौं आएको सोमबार एक महिना नाघिसकेको छ। भक्तपुरको होटलमा बसेर वीर अस्पतालमा उपचार गराउन धाउँदा करिब दुई लाख खर्च भइसकेको उनले बताइन्।

चिकित्सकले वडलाई एक महिनाको औषधि दिएको र औषधिले ठीक नभए एमआरआई गरेर हेर्नुपर्छ भनेका थिए। औषधिले कुनै सुधार नआएपछि डाक्टरले भनेको एक महिनापछि सोमबार एमआरआई गर्न वीर अस्पताल आउँदा अस्पतालले हडताल भएकाले हेर्न नमिल्ने भन्दै फिर्ता पठाएको थियो। बरु इन्डिया गएको भए दुई हप्तामै उपचार भइसक्थ्यो भन्दै आफ्नै देशमा सहज ढंगले उपचार नपाउनुको दोष सरकारले लिनुपर्ने वडको भनाइ छ। उनले सरकार र चिकित्सकबीचको खिचातानीले बिरामीले सास्ती भोग्नुपरेको गुनासो गरिन्। यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement