काठमाण्डू– सभामुख डोलप्रसाद अर्याल (डिपी) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदलाई सम्बोधन गर्ने तयारी गरिरहेको जानकारी गराएका छन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार विपक्षीको अवरोधबीच अर्यालले प्रधानमन्त्री सदनमा विपक्षीले उठाएका प्रश्नबारे जानकार रहेको बताए ।
अर्यालले नियमावलीको व्यवस्थाअनुसार महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर हुनुपर्ने भन्ने विपक्षीको माग संविधानसम्मत र जायज रहेको उनको भनाइ थियो ।
‘यहाँहरुले उठाउनुभएको विषय कानून सम्मत, नियसम्मत, संविधानसम्मत छ र जायज छ’, अर्यालले भने, ‘यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सरकारका प्रतिनिधि मन्त्रीहरु यहीं हुनुहुन्छ, उहाँहरुले पनि सुनिरहनुभएको छ ।’
प्रधानमन्त्री शाह र रास्वपाका प्रमुख सचेतकसहित नेताहरुसँग आफू संवादमै रहेको सभामुख अर्यालको भनाइ थियो ।
‘सत्ता पक्षका नेताहरु र मुख्य सचेतकसँग मेरो संवाद भइरहेको छ । स्वयं सम्माननीय प्रधानमन्त्रीसँग पनि संवाद भइरहेको छ । सम्माननीय धानमन्त्री आउने तयारी भइरहेको छ’, अर्यालले भने, ‘सदनमा भइरहेको विषयमा उहाँ सरकार जानकार छ । सम्माननीय प्रधानमन्त्रीज्यू जानकार हुनुहुन्छ । यहाँहरुले राख्नुभएको विषयमा मेरो ध्याानकर्षण भएको छ । कार्यसूीचमा भएका विषय अगाडि बढाऔं ।’
अर्यालले सत्ता पक्षका मुख्य सचेतकबाट प्राप्त भएको सूचनाअनुसार प्रतिपक्षी दलबाट उठाइएका प्रश्न र जिज्ञाशा मेटाउने विश्वास व्यक्त गरे ।
मंगलबार आकस्मिक, सून्य र विशेष समयको कार्यक्रमपछि संसद् नियमित कारबाहीमा प्रवेश गरेपछि विपक्षी काँग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए । उनीहरुले प्रधानमन्त्री प्रश्नोत्तरमा उपस्थित नभएसम्म संसद अघि बढ्न नसक्ने अडान लिएका छन् ।




प्रतिक्रिया