काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शनिबार अमेरिकाको २५०औँ वार्षिकोत्सवको कार्यक्रममा सहभागी हुन वासिङ्टन डीसीस्थित नेशनल मल पुगेका छन्। ट्रम्पले देशको २५०औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफूहरू कम्युनिस्ट र साम्यवाद नचाहने बताए।
उनले भने, ‘हामी हाम्रो देशमा कम्युनिस्टहरू चाहँदैनौँ। कम्युनिजम (साम्यवाद) सधैँ हारेको छ र हारिरहनेछ। यो अमेरिकी व्यवस्थाको बिलकुल विपरीत छ।’
राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब ४० मिनेट लामो सम्बोधन गर्दै अमेरिकाको भविष्यबारे महत्वाकांक्षी अभिव्यक्ति दिए ।
भाषणको अन्त्यमा उनले, ‘यो त अमेरिकाको स्वर्णिम युगको केवल सुरुवात मात्र हो, यसको भाग्य स्वयं भगवानले लेख्नुभएको हो,’ भन्दै देशको उज्ज्वल भविष्यप्रति विश्वास व्यक्त गरे।
उनले कार्यक्रमका क्रममा आएको वर्षाका कारण भएको असुविधालाई हल्का व्यंग्यात्मक शैलीमा उल्लेख गर्दै कठिन मौसमका बाबजुद अन्तिमसम्म कार्यक्रममा सहभागी भएर साथ दिएकोमा उपस्थित जनसमुदायलाई धन्यवाद दिए।
सम्बोधनको अन्त्यमा उनले ‘गड ब्लेस अमेरिका (भगवानले अमेरिकाको रक्षा गरून्)’ भन्दै भाषण टुंग्याए। यो वाक्यांश आधुनिक अमेरिकी राष्ट्रपतिहरूले प्रायः आफ्नो सम्बोधनको अन्त्यमा प्रयोग गर्ने परम्परागत अभिव्यक्ति हो।
पूर्वी र मध्य अमेरिकाका धेरै क्षेत्रमा अत्यधिक गर्मीको लहर चलिरहेका बेला आयोजना भएको यस कार्यक्रममा सयौँ विमानको फ्लाइओभर तथा आयोजकहरूले अहिलेसम्मकै सबैभन्दा ठूलो आतिशबाजी प्रदर्शन गरेको छ ।




प्रतिक्रिया