काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानमाथि बमबारी गर्ने धम्की दिएका छन् । इरानसँगको अमेरिकी वार्तामा ओमानले अवरोध गरे बमबारी गर्ने धम्की दिएको फक्स न्युजले जनाएको हो ।
फक्स न्युजका पत्रकार ट्रे यिङ्स्टका अनुसार फोन अन्तर्वार्ताका क्रममा ट्रम्पले ओमानलाई लक्षित गर्दै चेतावनी दिएका हुन्।
अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छन्। विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य पुनःखोल्ने विषयमा दुवै पक्षले तेहरानसँग छलफल गरिरहेकाे बीबीसीले जनाएकाे छ ।
अमेरिका–इरान युद्धका कारण हर्मुज जलडमरूमध्य करिब ६ महिनादेखि अधिकांश रूपमा बन्द रहेको बताइएको छ। विश्वमा खपत हुने तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को करिब पाँचौँ हिस्सा यही जलमार्ग हुँदै ओहोरदोहोर गर्छ।
यसअघि इरानी अधिकारीहरूले ओमानसँगको सम्झौता अन्तिम चरणमा पुगेको बताएका थिए। तर अमेरिका र इरानबीच भएको ६० दिने समझदारीपत्र (एमओयू) को अवधि सकिन लागेकाले दुई देशबीचको वार्ताको भविष्य भने अन्योलमा परेको छ।
सोमबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पलाई बीबीसीका पत्रकारले एमओयूको अवधि थप गर्ने विषयमा प्रश्न गरेका थिए। जवाफमा ट्रम्पले ‘होइन’ भनेका थिए।
हर्मुज जलडमरूमध्यको दक्षिणी किनारमा रहेको ओमानले आफू इरान–अमेरिका द्वन्द्वमा तटस्थ रहेको बताउँदै आएको छ। यद्यपि इरानबाट भएका विभिन्न आक्रमणको सामना गरिसकेको ओमान अहिले जलमार्ग पुनःखोलाउन इरानसँग वार्ता गर्ने महत्वपूर्ण भूमिकामा छ।
वासिङ्टनले पनि जलमार्ग खुलाउन आफ्नै प्रयास अघि बढाइरहेको छ। फक्स न्युजका पत्रकार ट्रे यिङस्टले ट्रम्पलाई उद्धृत गर्दै लेखेका छन्, ‘यदि ओमानले अवरोध गर्छ भने, हामी उनीहरूमाथि नराम्रोसँग बमबारी गर्नेछौँ।’




प्रतिक्रिया