काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता घट्दै गएपछि उनको आफ्नै रिपब्लिकन पार्टीभित्र असन्तुष्टिका संकेत देखिन थालेका छन्।
आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा ट्रम्पसँगको निकटता आफूहरूका लागि राजनीतिक रूपमा घाटा हुन सक्ने भन्दै केही रिपब्लिकन उम्मेदवारले दूरी बनाउन थालेका छन्।
एपी–एनओआरसीको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको समग्र कामकारबाहीप्रति ३० प्रतिशत अमेरिकी मात्रै सन्तुष्ट छन्। अर्थात् करिब ७० प्रतिशत अमेरिकी उनको कार्यसम्पादनबाट असन्तुष्ट देखिएका छन्।
अर्थतन्त्रमा ट्रम्पको स्वीकृति दर २६ प्रतिशत र जीवनयापनको बढ्दो लागत व्यवस्थापनमा उनको स्वीकृति दर १७ प्रतिशत मात्रै रहेको सर्वेक्षणमा उल्लेख छ।
६५ प्रतिशतभन्दा बढी अमेरिकीले लगातार बढिरहेको मूल्यवृद्धिका लागि ट्रम्पका नीतिलाई जिम्मेवार ठानेका छन्।
ट्यारिफ नीतिका विषयमा पनि ६४ प्रतिशत अमेरिकीले ट्रम्प आवश्यकताभन्दा बढी अघि बढेको बताएका छन्।
रिपब्लिकन उम्मेदवार टाढिँदै
मध्यावधि निर्वाचन नजिकिँदै गर्दा केही रिपब्लिकन उम्मेदवारले आफ्नो चुनावी अभियानमा ट्रम्प र उनको ‘अमेरिका फर्स्ट’ एजेन्डा हटाउन थालेका छन्। कतिपयले ट्रम्पसँग एउटै मञ्चमा देखिनसमेत रुचि नदेखाएको रिपोर्टमा उल्लेख छ।
आयोवाकी सांसद तथा सिनेट उम्मेदवार एश्ले हिन्सन र मिशिगनका सिनेट उम्मेदवार माइक रोजर्सले इरान युद्ध छिट्टै अन्त्य गर्नुपर्ने बताएका छन्। उनीहरू यसअघि ट्रम्पको सैन्य कारबाहीका समर्थक थिए।
आयोवाका सांसद ज्याक नन र मारियानेट मिलर–मीक्सले ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्ने प्रस्तावमा डेमोक्रेटिक सांसदसँगै मतदान गरेका छन्। फ्लोरिडाकी सांसद मारियाले ट्रम्पको कडा आप्रवासन नीतिमाथि प्रश्न उठाएकी छन्।
अर्थतन्त्र मुख्य चुनौती
रिपब्लिकन उम्मेदवारहरूमा देखिएको असहजताको मुख्य कारण अर्थतन्त्र र मूल्यवृद्धि बनेको छ। सेप्टेम्बर २४ देखि २८ सम्म गरिएको एपी–एनओआरसी सर्वेक्षणमा जीवनयापनको लागत व्यवस्थापन गर्ने ट्रम्पको नीतिप्रति १७ प्रतिशत मात्रै सन्तुष्ट देखिएका छन्। अर्थतन्त्रमा उनको स्वीकृति दर २६ प्रतिशत छ।
रिपोर्टअनुसार रिपब्लिकन उम्मेदवारहरू मूल्यवृद्धिको मुद्दा उठाउन चाहन्छन्। तर ह्वाइट हाउसमा आफ्नै पार्टीका राष्ट्रपति रहेकाले ट्रम्पको आर्थिक नीतिबाट पूर्ण रूपमा अलग देखिन उनीहरूलाई कठिन भइरहेको छ।
ओहायोमा रामास्वामी पछाडि
ट्रम्पको बलियो आधार मानिने ओहायोको गभर्नर निर्वाचनमा भारतवंशी रिपब्लिकन उम्मेदवार विवेक रामास्वामी पनि दबाबमा देखिएका छन्।
सेप्टेम्बर २४ देखि २७ सम्मको मेरिस्ट सर्वेक्षणमा डेमोक्रेटिक उम्मेदवार एमी एक्टनले ५० प्रतिशत समर्थन पाउँदा रामास्वामीले ४४ प्रतिशत समर्थन पाएका छन्।
सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पले ओहायो ११ प्रतिशत अंकको अन्तरले जितेका थिए। सोही सर्वेक्षणमा ट्रम्पको स्वीकृति दर ४२ प्रतिशत रहेको र ४१ प्रतिशत मतदाताले आफ्नो मत मुख्यतः ट्रम्पको विपक्षमा हुने बताएका छन्।
हाउसमा डेमोक्रेटिकको अग्रता
राष्ट्रिय स्तरको चुनावी सर्वेक्षणले पनि रिपब्लिकन पार्टीका लागि चुनौती बढेको देखाएको छ। नेट सिल्भरको औसतअनुसार सेप्टेम्बरको सुरुवातमा कांग्रेसको ‘जेनेरिक ब्यालट’ मा डेमोक्रेटिक पार्टी ६.७ प्रतिशत अंकले अगाडि थियो। पछिल्लो औसतमा उसको अग्रता ९ प्रतिशत अंक पुगेको रिपोर्टमा उल्लेख छ।
हाउस अफ रिप्रेजेन्टेटिभ्समा यस्तो अन्तर रिपब्लिकन पार्टीका लागि चुनौतीपूर्ण हुन सक्ने देखिएको छ। सिनेटमा भने रिपब्लिकनसँग अहिले ५३ र डेमोक्रेट्ससँग ४७ सिट छन्।
तर यसअघि सुरक्षित मानिएका केही रिपब्लिकन सिटसमेत प्रतिस्पर्धात्मक बन्दै गएको रिपोर्टमा उल्लेख छ।




प्रतिक्रिया