एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो डिजेलको मूल्यलाई मध्यनजर गर्दै कृषि तथा निर्माण क्षेत्रमा प्रयोग हुँदै आएको कर छुट प्राप्त ‘रेड–डाइड डिजेल’ सडकमा चल्ने सवारीसाधनमा समेत प्रयोग गर्न दिने निर्णय गरेका छन्।
देशभर डिजेलको औसत मूल्य प्रतिग्यालन ६.३० डलरभन्दा माथि पुगेपछि इन्धनको लागत कम गर्ने उद्देश्यले ट्रम्पले सोमबार कार्यकारी आदेश जारी गरेका हुन्।
नेब्रास्काको ग्रान्ड आइल्यान्डमा रिपब्लिकन सिनेटर पिट रिकेट्सको समर्थनमा आयोजित कार्यक्रममा ट्रम्पले उक्त आदेशमा हस्ताक्षर गरेका हुन्।
आदेशले संघीय निकायहरूलाई वर्षको अन्त्यसम्म डिजेलमा लाग्ने संघीय सडक करको भुक्तानी स्थगित गर्न निर्देशन दिएको छ। साथै, स्थगित कर तिर्नुपर्ने आवश्यकता हटाउने उपाय खोज्न पनि सम्बन्धित निकायलाई भनिएको छ।
‘रेड–डाइड डिजेल’ सामान्य डिजेलजस्तै भए पनि पहिचानका लागि यसमा रातो रंग मिसाइएको हुन्छ। यसमा प्रतिग्यालन २४.४ सेन्ट लाग्ने संघीय राजमार्ग कर तथा केही राज्य कर छुट हुन्छ।
यसअघि नै मध्यपश्चिम र दक्षिणी अमेरिकाका झन्डै एक दर्जन राज्यका गभर्नरहरूले सडकमा चल्ने सवारीसाधनमा यस्तो डिजेल प्रयोग गर्न अनुमति दिएका थिए। केही राज्यले रंग मिसाइएको डिजेलमा लाग्ने करसमेत निलम्बन गरेका छन्।
नर्थ डकोटामा सामान्य डिजेलमा प्रतिग्यालन २३ सेन्ट कर लाग्ने भए पनि रेड–डाइड डिजेलमा ४ सेन्ट मात्रै कर लाग्छ। त्यहाँको निर्णयअनुसार कृषि कार्यमा प्रयोग हुने सडक सवारीसाधनमा रेड–डाइड डिजेल प्रयोग गर्दा किसानले प्रतिग्यालन १९ सेन्टसम्म बचत गर्न सक्नेछन्।
अमेरिकामा अहिले शरद ऋतुको बाली भित्र्याउने मौसम सुरु भएकाले कृषि क्षेत्रमा डिजेलको माग उच्च छ। बढ्दो इन्धन मूल्यले किसान तथा पशुपालकलाई थप आर्थिक दबाबमा पारेको भन्दै ट्रम्प प्रशासनले अस्थायी राहतका रूपमा यो कदम अघि सारेको हो।




प्रतिक्रिया