जर्जियामा फेरि हारे ट्रम्प


वासिङ्टन – चुनावी मतगणनालाई थप विश्वसनीय बनाउने भन्दै अमेरिकाको जर्जिया राज्यमा दोहोर्याएर गरिएको मतगणनामा फेरि पनि राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनामा धाँधली भएको आरोप लगाएपछि त्यहाँ हातैले दोहोर्याएर मतगणना गरिएको हो । बाइडेनले यस जितसँगै राज्यबाट १६ निर्वाचक प्रतिनिधि(इलेक्टोरल मत) प्राप्त गरेका छन्  ।

बाइडेनले पेन्सिल्भेनिया, मिचिगन र विस्कन्सिन राज्यमा विजयी भएसँगै गत नोभेम्बर ७ मै अनौपचारिक रुपमा विजयी घोषणा गरिएको छ, र जर्जियाको मत पश्चात बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति ट्रम्पको भने २३२ मत छ ।

अमेरिकाको राष्ट्रपतिमा विजयी हुन २७० मत आवश्यक हुन्छ । सन् २०१६ मा जर्जियामा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको भन्दा ट्रम्पले ५ प्रतिशत बढी मत ल्याएर विजयी भएका थिए ।

तर यस वर्षको चुनावमा डेमोक्रेट पार्टीले जर्जिया राज्यमा निकै बढी ध्यान दिएको थियो । जर्जियाका सिनेटका दुबै पदमा यसपटक चुनाव भएको थियो तर दुबै पार्टीका उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि आगामी जनवरीमा पुनः चुनाव हुँदैछ ।

जर्जियामा सन् १९९२ पछि पहिलो पटक डेमोक्रेट उम्मेदवार बाइडेन विजयी भएका हुन् । सन् १९९२ मा यहाँबाट बिल क्लिन्टनले विजय हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement