अमेरिकाले रोक्यो वैदेशिक सहायता

अमेरिकाले रोक्यो वैदेशिक सहायता

नयाँ सहायता दिने कार्य पनि स्थगित


काठमाण्डु- अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प प्रसाशनले अमेरिकाले दिने सबै वैदेशिक सहायतालाई तत्कालका लागि रोक लगाएको छ । साथै नयाँ सहायता दिने कार्यलाई पनि स्थगित गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले देशबाहिर रहेका आफ्ना अधिकारी तथा अमेरिकी दूतावासहरूलाई एउटा आन्तरिक पत्र पठाउँदै वैदेशिक सहायतालाई तत्कालका लागि रोक लगाइएको र नयाँ सहायता दिने कार्यलाई पनि स्थगित गरिएको उल्लेख गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले आफू मातहतका निकायलाई पठाएको उक्त आन्तरिक पत्रको विषय चुहिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गत सोमवार ४७ औं राष्ट्रपतिको सपथ लिएपछि अमेरिकाले दिँदै आएको वैदेशिक विकास सहायतालाई ९० दिनका लागि स्थगित गर्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । उक्त आदेशपछि विदेश मन्त्रालयले आफू मातहतका निकायहरूमा त्यस्तो पत्र पठाएको हो ।

कस्ता सहायता रोकियो?

ट्रम्पले त्यस्ता सहायताहरूको प्रभावकारिता र निरन्तरताबारे समीक्षा गरेर आफ्नो विदेश नीतिलाई अघि बढाउने उद्देश्यसाथ उक्त कार्यकारी आदेश जारी गरेका थिए । सरकारी तथ्यांकअनुसार अमेरिका विश्वकै सबैभन्दा धेरै वैदेशिक विकास सहायता दिने देश हो । उसले सन् २०२३ मा ६८ अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहायता प्रदान गरेको थियो ।

विदेश मन्त्रालयको सूचनापछि विकासदेखि सैन्य सहायतासम्म सबैलाई असर गरेको देखिएको छ । यद्यपि उक्त पत्राचारमा आपत्कालीन खाद्य सहायता र इजरायल तथा इजिप्टको सैन्य कोषका निम्ति भने रोक लगाइएको छैन ।

उक्त पत्रमा भनिएको छ, ‘प्रत्येक प्रस्तावित नयाँ सहायता वा हाल कायम रहेका सहायताको थप विस्तारबारे समीक्षा तथा अनुमोदन नभएसम्म नयाँ सहायता वा विद्यमान सहायताहरूको विस्तारका लागि कुनै पनि नयाँ कोष बाध्य हुने छैनन् ।’

उक्त पत्रमा सबै वैदेशिक सहायताबारे व्यापक रूपमा ८५ दिनभित्र समीक्षा गरेर त्यसले राष्ट्रपति ट्रम्पका विदेश नीतिसम्बन्धी लक्ष्य पूर्ति गर्ने सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले पहिले नै विदेशमा गर्ने सबै खर्चले अमेरिकालाई मजबुत, सुरक्षित वा अझ समृद्ध बनाउँछ भन्ने सुनिश्चित गर्नुपर्ने बताएका थिए ।

विदेश मन्त्रालयका एक जना वरिष्ठ पूर्व अधिकारीले उक्त सूचनाले अमेरिकाले अनुदान दिने सहायता कार्यक्रममा सम्भावित रूपमा ठूलो प्रभाव पार्न सक्ने बताएका छन् ।

मध्यपूर्वमा अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी (यूएसएआईडी)का पूर्व नियोग निर्देशक डेभ हार्डनले यो कदम धेरै अर्थपूर्ण रहेको बताएका छन् । उनले खानेपानी, सरसफाइ र आश्रयस्थल निर्माणलगायतका महत्वपूर्ण विकास आयोजनामा व्यापक असर पर्छ सक्ने बताए ।

एएफपी समाचार संस्थाका अनुसार सहायता स्थगित गर्दा त्यसले युक्रेनलाई असर गर्न सक्छ । उसले ट्रम्पका पूर्ववर्ती जो बाइडनको नेतृत्वमा रहेको अमेरिकाबाट अर्बौँ डलर बराबरका अस्त्र सहायता पाएका थियो ।