ट्रम्पले खोलिदिए चीनलाई अवसरको ढोका !

ट्रम्पले खोलिदिए चीनलाई अवसरको ढोका !


काठमाण्डु- अमेरिकाले सबै चिनियाँ वस्तुमा लगाएको अतिरिक्त १० प्रतिशत आयात शुल्कका कारण यदि चीन रिसाइरहेको छ भने पनि उसले त्यो रिस देखाइरहेको छैन ।

जबकी क्यानडा र मेक्सिकोले अमेरिकाका त्यस्तै कदमविरुद्ध बदलाका कारबाही गर्ने धम्की दिएका छन् । क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले करिब १०० अर्ब डलर बराबरका अमेरिकी वस्तुहरूमाथि २५ प्रतिशतको शुल्क लगाइदिने बताएका थिए ।

ती दुवै देशसँग अन्तिम समयमा भएका सहमतिपश्चात् राष्ट्रपति ट्रम्पले ती देशका आयातमा लगाउने भनिएको शुल्कमा अस्थायी बिराम लगाएका छन् । तर चीनमाथिको शुल्क चाहिँ मंगलबारदेखि कार्यान्वयन हुने भनिएको छ ।

सन् २०१८ मा डोनल्ड ट्रम्पले चिनियाँ आयातविरुद्ध चरणबद्ध शुल्क लगाउन थाल्दा बेइजिङले आफू व्यापार युद्धबाट नतर्सने बताएको थियो । तर यस पटक चीनले अमेरिकालाई वार्ताका लागि आग्रह गर्दै मिलनबिन्दु पहिल्याउन अनुरोध गरेको छ ।

त्यसो भन्दैमा अमेरिकाको पछिल्लो घोषणाले चीनलाई असर गर्दैन भन्ने कदापि होइन । गर्छ, अझ यो १० प्रतिशत भनेको त पहिले नै बढाइसकेको शुल्कमाथि लाग्ने हो, जुन ट्रम्पको पहिलो कार्यकालको समयमा अमेरिकाले दशौँ अर्ब डलर बराबरका चिनियाँ आयातमा लगाइदिएको थियो ।

शिथिल भइरहेको अर्थतन्त्रले चिन्तित आफ्ना जनतालाई थप निराश नतुल्याउन सायद चिनियाँ सरकारले चर्को प्रतिक्रिया जनाइरहेको छैन ।

तर त्यो अर्थतन्त्र विगतमा जस्तो अमेरिकामा धेरै निर्भर चाहिँ छैन । बेइजिङले अफ्रिका, दक्षिण अमेरिका र दक्षिणपूर्वी एसियामा व्यापार सम्झौताहरूको निकै विस्तार गरेको छ । संसारका १२० भन्दा धेरै देशहरूमा चीन सबभन्दा ठूलो व्यापारिक साझेदार मुलुक बनिसकेको छ ।
त्यसैले उक्त अतिरिक्त १० प्रतिशत आयात शुल्कले ट्रम्पले चाहेजस्तो प्रभाव नपार्न सक्ने चिनियाँ अधिकारीहरूको धारणा छ ।

राष्ट्रपति सी जिन्पिङ बेखुसी नहुनुमा अर्को पनि कारण हुन सक्छ–उनले यहाँ अवसर देखेका हुन सक्छन् ।

ट्रम्पले आफ्नै छरछिमेक तथा निकट साझेदारहरूमा विभाजन निम्त्याएका छन् । प्रशासन सम्हालेको एक साता नबित्दै उनले युरोपेली युनियनलाई समेत आयात शुल्क लगाइदिने चेतावनी दिइसकेका छन् । उनका क्रियाकलापले अमेरिकाका अन्य साझेदार मुलुकहरू पनि चिन्तित भएका छन् ।

तर चीनले आफूलाई शान्त, स्थिर र थप आकर्षक विश्वव्यापी व्यापारिक साझेदारको रूपमा उभ्याउन चाहन्छ ।

स्टिमसन सेन्टरका चीन कार्यक्रम निर्देशक युन सनका अनुसार ट्रम्पको अमेरिका–पहिले भन्ने नीतिले विश्वका लगभग सबै देशका निम्ति अवसर तथा चुनौती ल्याउनेछ ।

‘अमेरिका–चीन रणनीतिक प्रतिस्पर्धाको दृष्टिकोणबाट हेर्दा अमेरिकी नेतृत्व तथा विश्वासको क्षयीकरणले चीनलाई फाइदा पुग्छ । सायद द्विपक्षीय तहमा यसले चीनको निम्ति फाइदा नगर्ला तर बेइजिङले यो अवसर छोप्न खोज्नेछ’, उनले भने ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्रको नेताको हैसियतमा चिनियाँ राष्ट्रपति सी जिनपिङले वैकल्पिक विश्व व्यवस्थाको अगुवाइ गर्ने आफ्नो महत्वाकांक्षा भने लुकाएका छैनन् ।

सन् २०२० मा ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई अमेरिकी सहयोग रोकिदिए, तब चीनले उक्त निकायलाई थप सहयोग गर्ने घोषणा गर्‍यो । वाशिङटनले अहिले पुनः डब्ल्यूएचओबाट हात झिकिरहँदा उसको सहयोगका लागि फेरि चीन अघि सर्ने अपेक्षा बढेको छ ।

अमेरिकाले उसका सहयोगमा निर्भर देश तथा संघसंस्थाहरूमा उथलपुथल मच्चिने गरेर सबै सहयोग रोक्काको घोषणा गरेको छ । सायद यहाँ पनि चीनले खाली ठाउँ भर्ने इच्छा गर्न सक्छ ।

कार्यभार सम्हालेको पहिलो दिन ट्रम्पले अमेरिकाले दिँदै आएको सबै वैदेशिक सहयोग रोक्का गर्ने घोषणा गरे । अमेरिका विश्वको नम्बर एक वैदेशिक सहयोग दिने राष्ट्र हो । अमेरिकी सहयोग नियोग यूएसएआइडीले दिँदै आएका सयौँ वैदेशिक सहयोगका कार्यक्रम ठप्प भएका छन् । उक्त निकायको भविष्य नै अनिश्चयमा परेका बेला सहयोग कार्यक्रम सञ्चालन गर्ने कैयन् संस्थाहरूमा अहिले हलचल भइरहेको छ ।

आधुनिक चीनसम्बन्धी इतिहासकार तथा सोलस्थित योनसेइ विश्वविद्यालयका प्राध्यापक जोन डेल्युरी भन्छन् ट्रम्पको ‘अमेरिका पहिले’ भन्ने नीतिले वाशिङटनको विश्व नेताको हैसियत कमजोर हुन जान्छ ।

‘महत्वपूर्ण व्यापारिक साझेदारहरूलाई आयात शुल्क लगाउने अनि सम्पूर्ण वैदेशिक सहायता रोक्ने जस्ता कदमले ग्लोबल साउथ (विकासोन्मुख देशहरू) तथा ओईसीडी (सम्पन्न देशहरू) दुवैलाई के सन्देश जान्छ भने अब अन्तर्राष्ट्रिय साझेदारी तथा सहयोगमा अमेरिकाको रुचि छैन,’ उनले भने ।

यस परिप्रेक्ष्यमा जब अमेरिका विश्व मञ्चबाट पछि हट्दै जान्छ, सबैलाई फाइदा हुने विश्वव्यापीकरण भनेर राष्ट्रपति सीले बारम्बार दिँदै आएको सन्देशले नितान्त बेग्लै अर्थ राख्छ ।

विश्व नेतृत्वको होडबाजीमा बेइजिङले अमेरिकी नेतृत्वको गत ५० वर्षको विश्व व्यवस्था पल्टाइदिने अवसर खोज्दै आइरहेको थियो, सायद ट्रम्पको दोस्रो कार्यकालले निम्त्याउने अनिश्चयताले त्यो अवसर दिनेछ ।

अमेरिका–चीन सम्बन्धमा ताइवान सबभन्दा विवादितमध्ये एक विषय रहँदै आएको छ। वाशिङटनले ताइपेइलाई दिने कुनै पनि समर्थनको बेइजिङले निन्दा गर्दै आएको छ ।

तर जब ट्रम्प स्वयंले क्यानडालाई अमेरिकामा गाभ्ने अनि ग्रीनल्यान्डलाई किन्ने जस्ता धम्की बारम्बार दिइरहेका छन् तब अमेरिकालाई (ताइवानलाई लिएर) चीनको आक्रामकताको प्रतिक्रिया दिन कठिन हुनेछ ।

यस क्षेत्रका धेरै देशहरूले चीनसँगको आर्थिक सम्बन्धलाई सन्तुलनमा राख्न अमेरिकासँगको सैन्य सम्बन्धको उपयोग गर्दै आएका छन् ।
तर अब बेइजिङसँगको संशय अनि अमेरिकाप्रतिको अनिश्चयले नयाँ एसियाली साझेदारी विकास हुन सक्छ ।