विपद् बाजा बजाएर आउँदैन : मुख्यमन्त्री पौडेल


हेटौंडा – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले धेरै नीति योजना र कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्ने बताएका छन् । “हामी नीति, योजना, कार्यक्रम बनाउँछौँ तर कार्यान्वयन गर्न पछि पर्छौ, यो समस्या सबै क्षेत्रको समस्या र सधँैको समस्या भएको छ”, पौडेलले भने ।

ठूला, भद्धा र गर्न नसकिने योजना बनाउनुभन्दा पनि कार्यान्वयन गर्नसकिने खालका योजना बनाउनुपर्ने उनको धारणा थियो । उनले परिणाम नआउने खालका काम गर्न नहुने बताए ।

आज प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित प्रदेश विपद् व्यवस्थापन नीति तथा रणनीति कार्ययोजना तर्जुमासम्बन्धी कार्यशालामा मुख्यमन्त्री पौडेलले विपद् बाजा बजाएर आउँदैन भन्ने पुरानो भनाइलाई प्रविधिले उल्ट्याएको बताए ।

मुख्यमन्त्री पौडेलले प्रविधिका कारण विपद् आउन सक्ने अवस्थाका बारेमा पूर्वजानकारी प्राप्त गर्न सकिने हुँदा त्यसको तयारी र व्यवस्थापनमा समेत सचेत हुन जरुरी रहेको बताए ।

विपद् व्यवस्थापनका लागि आवश्यक र प्रभावकारी सूचना प्रविधिका उपकरण जडान गरिनुपर्ने उनको भनाइ थियो । विपद् व्यवस्थापनमा राज्यका तीनै तहका सरकार उत्तिकै जिम्मेवार भएर लाग्नुपर्नेमा मुख्यमन्त्रीले जोड दिए । पौडेलले प्रदेश ३ चट्याङ प्रभावित क्षेत्र पनि भएका कारण त्यसबाट हुने क्षति कम गर्न पहल थालिनुपर्ने भनाइ राखे ।

प्रतिक्रिया दिनुहोस
Advertisement