श्रममन्त्री अर्याल र रास्वपा सहमहामन्त्री पनि सहकारी ठगीमा संलग्न!


काठमाण्डु- नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल पनि संलग्न रहेको बताएको छ ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद रामकृष्ण यादवले मन्त्री अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लगाएका हुन् ।

मन्त्री अर्याल र बुर्लाकोटीसमेत सहकारीको सञ्चालक रहेको बेलामा ४ करोड बढी रकम बचतकर्ताले फिर्ता नपाएको उनको दावी छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय आएको छ । सोही सहकारीमा रास्वपाका सहमहामन्त्री बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए। सो सहकारीमा पनि अस्वभाविक रुपमा गोर्खा मिडियाका अध्यक्ष जिबि राईलाई भित्र्याइएको छ। त्यो काम श्रममन्त्रीको हो भन्ने छ। यो सहकारीको छानविनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने छ। निष्पक्ष छानविन आवश्यक छ। संसदीय समिति बनाऔँ।’, उनले भने ।

साथै, यादवले गृहमन्त्री लामिछानेमाथि निष्पक्ष छानबिन नगर्दासम्म यो विषयले कहिल्यै नछाड्ने पनि बताए। समस्या ग्रहस्त उक्त सहकारीको छानबिनलाई सरकारले प्रभावित पार्न खोजिएको कांग्रेस सांसद यादवको आशंका छ ।

‘यो घटनाले सहकारीको ठगी सञ्जाल कसरी फैलिरहेको छ भन्ने पुष्टि भएको छ । त्यसैले हामी निष्पक्ष छानबिन भनिरहेका छौँ । त्यसका लागि संसदीय छानबिन समिति भनिरहेका छौँ ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement