डिपिएललाई आइसिसीको मान्यता


धनगढी– यही माघ २६ गतेदेखि कैलालीकाे सदमुकाम धनगढीमा आयोजना हुने रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता दिएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले एक विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले मान्यता दिएको जनाएको छ ।

एकेडेमीका अध्यक्ष सुवास शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइसिसीले मान्यता दिएसँगै प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रलाई समेत जानकारी गराइसकेको उल्लेख छ । डिपिएल प्रतियोगिताको आयोजना सँगै देशमा पहिलोपटक खेलाडीको बोलकबोल (अक्शन) गराउँदै नेपाली क्रिकेटलाई व्यावसायिकरुपमा अघि बढाइएको छ । प्रतियोगितामा सहभागी हुने छवटै टोलीलाई दुई जना अनिवार्य व्यावसायिक खेलाडी राख्नुपर्ने प्रावधानअनुरुप खेलाडीको बोलकबोल (अक्शन)को शुरुआत गरिएको हो ।

रुस्लान डिपिएलको तेस्रो संस्करण करीब रु पाँच करोडको लागतमा धनगढीको फाप्ला क्रिकेट मैदानमा हुँदैछ । जसमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किङ्ग्स, रुपेन्देही च्यालेञ्जर्स र काठमाडौँ गोल्डन्स गरी छ फ्रेन्चाइजी टोलीले सहभागिता जनाउँदैछन् ।

छवटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन् । डिपिएलका प्रत्येक टिमले अक्शनबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरी १५–१५ खेलाडीलाई टोलीसँग आबद्ध गरिसकेका छन् ।

टी–२० फम्र्याटको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ । लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक-एक खेल खेल्ने जनाइएको छ । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement