कात्तिक १३ बाट अनशन बस्ने डा. केसीको चेतावनी


काठमाडौँ । डा.गोविन्द केसीले आफ्ना माग पुरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने चेतावनी दिएका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै डा. केसीले विगतमा आफूसँग भएका सहमति कात्तिक ८ गतेसम्म कार्यान्वयन नभए तिहारको भोलिपल्टैबाट अनशन बस्ने चेतावनी दिएका हुन् ।

केसीले चिकित्सा शिक्षा ऐनमा संशोधन, त्रिविका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण, व्यिार्थीसँग बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई कारबाबही लगायतका माग अघि सारेका छन् ।

यस्ता छन् माग डा. केसीको ६ बुँदे मागः

१. हामीसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

२. विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गरियोस् ।

३. आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस्। अरबौँको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरियोस् ।

४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा बृद्दि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् ।

५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति र्पुयाएर एमबीबीएस कार्यक्रम सञ्चालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजीपी कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबीबीएस कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस्। प्रदेश नं दुई र चार तथा डोटी र डडेल्धुरा, उदयपुर र इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

६. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवण्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement