देउवा सरकारको २३ दिनको रेकड तोडेदै, ओली सरकारले बनायो डा. केसीको अनसन २४ औं दिन


काठमाडौं – चिकित्सा शिक्षा सुधार लगायतका माग राखेर अनसनमा बसेका डा. गोविन्द केसीको अनशन आज २४ औं दिनमा पुगेको छ । १५ औं पटकको उनको यो अनशन अहिलेसम्मकै लामो बनेको छ। यसअघि ११ औं अनशनका समयमा डा। केसी सबैभन्दा बढी २३ दिनसम्म गत बर्ष शेरबहादुर देउवा सरकारका पालमा अनशन बसेका थिए ।

अनशन बसिरहेकै बेला देशमा बाढीपहिरोले ठूलो धनजनको क्षति हुन थालेपछि उनले अनशन स्थगित गरेका थिए। यसपटक भने त्यो रेकर्डलाई पनि तोडेर डा केसीको अनशन अहिलेसम्मकै लामो भएको छ। तर अझै डा. केसी र सरकारबीच संवाद अघि बढ्न सकेको छैन।

गत असार १६ गतेदेखि जुम्लामा अनशन बसिरहेका डा. केसीलाई सरकारले बलपूर्वक गत बिहीबार काठमाडौं ल्याएको हो। अहिले डा.केसी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनशन बसिरहेका छन्।

सरकारले संसदमा दर्ता गराएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने माग डा. केसीले राख्दै आएका छन्। सरकारले संसद्मा दर्ता गराएको विधेयकमा एउटा विश्वविद्यालयले ५ भन्दा बढी पनि सम्बन्धन दिन सक्ने, काठमाडौं उपत्यकामा पनि मेडिकल कलेज खोल्न मिल्ने तथा अस्पताल सञ्चालन गर्नेबित्तिकै मेडिकल कलेज खोल्न मिल्ने व्यवस्था गरिएको छ । डा। केसीले भने यस विपरीतको माग राख्दै आएका छन्।

डा. अभिषेकराज सिंहको संयोजकत्वमा डा। केसीको वार्ता टोली बनेको छ भने शिक्षा सचिव खगराज बराल नेतृत्वमा सरकारी वार्ता टोली बनाइएको छ। केसी पक्षले पहिले संसदबाट शिक्षा विधेयक फिर्ता लिएर मात्र वार्तामा बस्ने अडान लिँदै आएको छ भने सरकारले पनि विधेयक फिर्ता लिने संकेत गरेको छैन। दुई पक्षको आ–आफ्नै अडानका कारण वार्ता अघि बढ्न सकेको छैन।

डा. केसीको समर्थनमा नागरिक समाजका अगुवाहरू समेत सडकमा उत्रिएका छन्। उनीहरू आइतबारदेखि काठमाडौंको वसन्तपुर डबलीमा सामूहिक सत्याग्रहमा बसेका छन्। सामूहिक सत्याग्रह सोमबार पनि बिहान १० बजेदेखि जारी रहने उनीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement