सरकारले हामीलाई पाइला–पाइलामा झुक्यायो : डा.गोविन्द केसी


काठमाडौं – चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै १६ पटकसम्म अनसन बसेका चिकित्सक डा.गोविन्द केसीले सरकारले आफूहरुलाई बारम्बार झुक्याएको आरोप लगाएका छन् ।

चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै १६ पटकसम्म अनसन बसेका प्राध्यापक डा. केसीले सरकारले आफूसँग सम्झौता गर्ने र त्यसलाई पटक–पटक उल्लंघन गर्ने गरेको बताएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले भनेका छन्, चिकित्सा क्षेत्रका यावत विकृतिहरु रोकेर गुणस्तरीय जनशक्ति उत्पादनका लागि दुरुस्त ऐन र त्यस अन्तर्गत नियमनका लागि बलियो चिकित्सा शिक्षा आयोग हुनुपर्छ भन्ने माथेमा कार्यदलको निश्कर्षपछि आफूहरु निरन्तर त्यसका लागि लडिरहेको बताएका छन् ।

‘तर यसबीच राज्यबाट पाइला पाइलामा हामीलाई झुक्याउने काम भयो । हामीसित भएका सम्झौताहरु बारम्बार उल्लंघन भए । विद्यार्थी र सर्वसाधारणको नभई सीमित माफियाहरुको हित हुने गरी ऐन ल्याउने प्रयास पनि भयो ।’

केसीले भनेका छन्, ‘तर लामो सत्याग्रहपछि २०७५ साउन १९ गते चिकित्सा शिक्षा विधेयकमा बुँदागत रुपमा संशोधन गरेर पारित गर्ने प्रतिबद्धतासहित सरकारले हामीसँग सम्झौता ग¥यो । तर विडम्बना, पछि गएर फेरि सुधारको मर्म्विपरीत प्रधानमन्त्रीकै निर्देशनमा माफियामुखी प्रावधानहरु राखेर जबर्जस्ती ऐन पारित गरियो ।’

त्यस यता निरन्तर उक्त ऐनमा सम्झौता बमोजिम संशोधन गर्न माग गर्दै आएपनि त्यसको सुनुवाइ नगरिएको उनको गुनासो छ ।

‘अहिले मेडिकल कलेजहरुमा मात्र नभई नर्सिङलगायत सीटीइभीटीअन्तर्गतका शिक्षण संस्थाहरु लथालिंग छन् । मन्त्रीलगायत राजनीतिज्ञहरुको स्वार्थ र मिलेमतोका कारण ती संस्था पढाउनेभन्दा पनि डिग्री बेच्ने थलो बनेका छन्’ केसीले भनेका छन् ।

उनले सरकारले नियुक्ति प्रक्रियाको कर्मकाण्ड देखाएर पन्छिने हैन कि योग्य मान्छे खोजेर स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिने शर्तमा जिम्मेवारी सुम्पनुपर्ने भन्दै त्यसका लागि हाल अघि बढेको उम्मेदवारहरुको छनोट प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement