कोरोना भाइरसको संक्रमणले हृदयघात पनि हुन सक्छ : डा. प्रेमराज वैद्य


कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा पनि तीव्र गतिमा फैलिरहेको छ । नयाँ भेरियन्टको फैलिएसंगै अहिले देशभर कोरोना संक्रमणको ग्राफ उकालो लाग्ने क्रम दैनिकजसो बढ्दो छ । पुरानो कोरोना भाइरसको तुलनामा नयाँ स्वरूपको भाइरसको संक्रमण दर बढी हुने र शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि छिटो आक्रमण गर्न सक्ने हालसम्मका अध्ययनले देखाएको बताइएको छ । नयाँ स्वरूपको भाइरस भएकाले यसको विषयमा अझै अनुसन्धान भइरहेको छ ।

यो भाइरस पहिलाको भन्दा अत्यन्तै तीव्र गतिमा फैलनसक्ने, बालबालिकामा पनि युवाहरूमा जस्तै सर्नसक्ने क्षमता समेत भएको देखिएको छ । नयाँ स्वरूपको भाइरस संसारभर फैलिएमा अहिले बनिरहेका कोभिड–१९ विरुद्धको खोपले नै काम गर्छ वा गर्दैन भन्ने चिन्ता समेत थपिएको छ । यो भाइरसले मानव शरिरलाई कसरी आक्रमण गरिरहेको छ भनेर वरिष्ठ मुटु रोग विशेषज्ञ डा प्रेमराज वैद्यसँग काठमाण्डुपाटीले गरेको कुराकानीको सम्पादीत अंशः

नयाँ स्वरूपको कोरोना भाइरसमा देखिने लक्षणहरु के के हुन् ?

यो अहिले नै ठ्याक्कै यकिनका साथ भन्न सक्ने अवस्था छैन । यो अझै अध्ययनकै विषय भएकाले पुर्ण विवरण त छैन । यद्यपि नयाँ रूपको कोरोना भाइरस संक्रमण हुँदा पनि पुरानै लक्षण देखिएको पाइएको छ । नयाँ र पुरानोमा एक दुई लक्षण मात्र फरक छ । रुघाखोकी, छाती दुखाई, ज्वरो, गन्ध र स्वाद थाहा नपाउने, जिउ दुख्ने र शरीर चिलाउनेजस्ता लक्षण पुरानो तथा नयाँ रूपको कोरोना भाइरसमा देखिएका छन् । नयाँ स्वरूपको कोरोना संक्रमितमा कम लक्षण देखिएका छन् । कम उमेर समूहका ब्यक्ति पनि संक्रमित बनेका छन् ।

नयाँ स्वरूपको भाइरसको असर कस्तो देखिएको छ ?

नयाँ पुरानो दुवैका असर उस्तै हुन् । कोरोना भाइरसको मुख्य असर भनेको शरीरमा रगत जम्ने शक्ति बढाउने देखिएको छ । शरीरमा रगत जमेका कारण मानिसहरूको मृत्युदर बढी छ । अरू बेला निमोनिया हुँदा फोक्सोको श्वास नलीमा मात्र कीटाणुले असर गर्ने गथ्र्यो । फोक्सोमा खकारको एक ढिक्का बनाउँथ्यो जुन पछि औषधी सेवन गरेर निको हुन्थ्यो तर कोरोनाले रक्त नलिनै बन्द गरिदियो जसबाट खकार जमेको ठाउँमा औषधि पु¥याउनै सकिएन । रक्त नलिनै बन्द भएपछि मानिसहरूको मृत्यु हुने गर्छ ।

नयाँ स्वरूपको कोरोना भाइरस कतिको खतरनाक छ ?

हालसम्म गरिएका अध्ययनअनुसार पुरानो रूपको कोरोना भाइरस भन्दा नयाँ रूपको कोरोना भाइरस ७० प्रतिशत बढी संक्रामक देखिएको छ । यसकारण यो पुरानो भन्दा बढी खतरनाक देखिन्छ । पुरानो रूपको कोरोना भाइरसभन्दा नयाँ रूपको कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमतामा छिटो आक्रमण गर्ने र यसको जोखिम पनि उति नै बढी हुने अनुसन्धानहरूले देखाएका छन् ।

कोरोनाका कारण हृदयघात भएको भन्ने पनि सुनिन्छ नि ?

हृदयघात यही कारण हुन्छ भन्ने अहिलेसम्म थाहा छैन । तर,कोरोना पनि एक कारण हो भन्न सकिन्छ । कोरोनाले सबैभन्दा धेरै असर फोक्सोमा गर्छ । फोक्सोले श्वास फेर्न नसकेपछि शरीरमा अक्सिजनको कमी हुन थाल्छ । मुटुलाई रगत पम्प गर्न चाहिने अक्सिजन नै नभएपछि मुटुको धड्कन बन्द हुन्छ । मुटुको धमनी बन्द भएपछि हृदयघात हुन जान्छ ।

यसको रोकथाम र यसबाट कसरी बच्न सकिन्छ ?

यो भाइरस विश्वका लागि नयाँ हो । यसको प्रकृतिबारे अध्ययन भइरहेका छन् । यसको स्वरूप परिवर्तनले सबैलाई चिन्तित बनाएको छ । दिनप्रतिदिन संक्रमण बढ्दो छ । संक्रमणबाट जोगिन हामी आफैले ध्यान दिनुपर्ने हुन्छ । यसबाट जोगिन मुख्यतया दुई वटा उपाय मैले देखेको छु । प्राइमरी प्रिभेन्सन र सेकेन्डरी प्रिभेन्सन । प्राइमरी प्रिभेन्सनमा मास्क , सेनीटाइजरको प्रयोग तथा सामाजिक दुरी कायम गर्नु हो । यस्तै सकेसम्म हातले नाक तथा मुखमा नछुने नै हो । अर्को सेकेन्डरी प्रिभेन्सनमा हामीले खोप लगाउने वा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने नै हो ।

रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउन सकिन्छ ?

रोग प्रतिरोधात्मक क्षमता बढाउन घाम निकै फलदायी मानिन्छ । प्रशस्त पानी पिउने,यस्तै शारीरिक ब्यायामले पनि रोग प्रतिरोधी क्षमता बढाउँछ । तर थाकेको अवस्थामा भने ब्यायाम गर्नुहुँदैन । खानेकुराबाट पनि रोग प्रतिरोधी क्षमता बढाउन सकिन्छ । हाम्रै भान्सामा दैनिक रूपमा प्रयोगमा आउने मसला (जस्तैःलसुन, अदुवा,बेसार) ले रोग प्रतिरोधी क्षमता बढाउँछ । यसको सेवन निकै फलदायक मानिन्छ ।

सरकारले चालेका कदमहरु कोरोना नियन्त्रणका लागि पर्‍याप्त छन् त ?

सरकारले कडाइ त गरेको छ तर उच्चपदस्थ व्यक्तिबाटै नियम उल्लङ्घन भएको देखिन्छ । गाउँ तिर हेर्ने हो भने त अझ कोभिड पनि छ र ? भने जस्तो स्थिति छ । यसबारे सरकारले नियमनमा कडाइ गर्नुपर्‍याे । यतिले मात्र पुग्दैन । हरेक ठाउँमा स्वास्थ्य संयन्त्रलाई सक्रिय बनाउँदै स्वाथ्य मापदण्ड पालना गराउन जोड दिनुप¥यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement