अनलाइनमा आधारित शिक्षण सिकाइको सुरुवात र प्रवर्धन


डा. तोयानाथ खनाल

कोरोना भाइरसको महामारीका कारणले नेपाल सरकारले वि.सं २०७६ चैत ११ गतेका दिनदेखि देशभर बन्दाबन्दीको घोषणा गर्यो । यस घोषणाले विद्यालय/शिक्षालयमा भइआएका आमनेसामने पद्धतिका शैक्षिक कार्यकलापहरु सञ्चालन हुन सकेनन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैकल्पिक माध्यमहरुको प्रयोग गरी शिक्षणसिकाइलाई निरन्तरता दिनुपर्ने निर्देशन जारी गर्यो ।

सिकाइका बैकल्पिक माध्यमहरु मध्ये अनलाइनमा आधारित शिक्षण सिकाइ पनि एक हो । देशमा अनलाइन पहुँच धेरै ठाउँमा हुन नसकेको, अझै पनि लोडसेडिङको समस्या रहेको, अनलाइनमा शिक्षण गर्नका लागि शिक्षकहरुको क्षमता विकास नभएको साथै अनलाइन पहुँच भएका ठाउँका सबै अभिभावकहरुमा यस किसिमको शिक्षणसिकाइमा सहभागिता जनाउनका लागि आवश्यक पर्ने टेलिफोन सेट वा कम्प्युटर/ल्यापटप नभएका कारणले सबै विद्यार्थीका लागि अनलाइनमा आधारित शिक्षण सिकाइको सुरुवात गर्ने अवस्था थिएन ।

बन्दाबन्दीका समयमा देशका विभिन्न शहरी भागहरुमा सञ्चालित विद्यालयहरुमा शिक्षक र प्रधानाध्यापकहरुको अगुवाइमा अनलाइनमा आधारित शिक्षण सिकाइको पनि प्रयोग गरिएको पाइएको छ । नेपालमा विद्यालयीय शिक्षा अनलाइनमा आधारित बनाएर दिने सम्बन्धमा नीतिगत व्यवस्थाको कमी साथै भौतिक पूर्वाधार र मानवीय क्षमता विकासमा कम ध्यान दिएको अवस्था हो ।

सायद यस प्रकृतिको महामारी यसभन्दा अगाडि नभएर पनि अनलाइनमा आधारित शिक्षणसिकाइको राम्रो वातावरण बन्न नसकेको हुनसक्छ । बागमती प्रदेशका शिक्षकहरुको क्षमता बढाउने जिम्मेवारी पाएको शिक्षा तालिम केन्द्र धुलिखेलले पनि मिति २०७७ वैशाख ३० गतेदेखि मात्र अनलाइनमा आधारित तालिम कार्यक्रमको थालनी गरेको हो (शिक्षा तालिम केन्द्र, २०७७) ।

शिक्षणसिकाइमा अनलाइनमा आधारित पद्धतिको प्रयोग गर्ने क्रममा तारकेश्वर नगरपालिका काठमाडौंमा सञ्चालित एउटा सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक आफ्नो विद्यालयमा मिति २०७७ साल वैशाख २७ गतेदेखि अनलाइनमा आधारित शिक्षणसिकाइको सुरुवात गरिएको र अहिले विद्यालयमा भर्ना भएका मध्ये ७० प्रतिशत विद्यार्थीहरु यस पद्धतिको शिक्षणसिकाइमा सहभागी भएको अनुभव बताउनुहुन्छ ।

विद्यालयकै स्रोतबाट विद्यालयमा कार्यरत सबै शिक्षकहरुको अनलाइनमा आधारित शिक्षणसिकाइका लागि क्षमता बढाएर मात्र शिक्षणसिकाइको सुरुवात गरिएको उहाँको भनाइ रहेको छ । उहाँले अनलाइनमा आधारित शिक्षणसिकाइको सुरुवात गर्नु भनेको DuBrin (२००६) ले परिभाषित गरेको रचनात्मकताको परिभाषा अनुकूलको नयाँ र उपयोगी विचारबाट सुरुवात भएको काम हो ।

यसभन्दा अगाडि उहाँको विद्यालयमा यस किसिमको शिक्षणसिकाइ प्रक्रियाको प्रयोग नभएकाले यसलाई उहाँले रचनात्मक काम भन्नुभएको हो । काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा उहाँ वि स  २०७४ सालदेखि माध्यमिक तहको स्थायी शिक्षकका रुपमा कार्यरत कार्यालय सञ्चालन र लेखा विषयको महिला शिक्षक हुनुहुन्छ । उहाँसँग १० वर्षभन्दा लामो शिक्षण अनुभव रहेको छ । अहिले उहाँ त्रिभुवन विश्वविद्यालयमा ‘एम फिल’ तहको विद्यार्थी पनि हुनुहुन्छ । संयोगले उहाँले नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीको समयमा नै प्रधानाध्यापकको जिम्मेवारी पाउनुभएको हो ।

यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको छ भने शैक्षिक वर्ष २०७८ मा जम्मा ५५० जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा सबै तहका गरी २२ जना शिक्षकहरु कार्यरत रहेका छन् । बन्दाबन्दी भएको सुरुको समयमा कुनै पनि शिक्षकमा अनलाइनमा आधारित शिक्षणसिकाइ कार्यकलाप सञ्चालन गर्ने क्षमता थिएन ।

केही समयको व्यक्तिगत प्रयासपछि १० जना शिक्षकहरुमा मात्र अनलाइनमा आधारित शिक्षण गर्ने सामान्य सीप हाँसिल भएको प्रधानाध्यापकको अनुभव छ । तारकेश्वर नगरपालिकाले बन्दाबन्दीका समयमा शिक्षणसिकाइका बैकल्पिक माध्यमहरुको प्रयोग गर्नका लागि निर्देशन जारी गर्यो तर यसका लागि कुनै किसिमको सहज वातावरण बनाएको र आर्थिक लगानी गरेको जानकारी भएन भन्ने उहाँको गुनासो छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा गाउँपालिका र नगरपालिकाका आधारभूत र माध्यमिक शिक्षासम्बन्धी २३ ओटा अधिकारमा स्थानीय सरकारलाई बैकल्पिक शिक्षासम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा. कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन गर्ने अधिकार पनि उल्लेख भएको छ तर नगरपालिकाले भने निर्देशन जारी गरेर मात्र भए पनि आफ्नो जिम्मेवारी पूरा गर्न खोजेको उहाँको मूल्याङ्कन छ ।

यदि नगरपालिकाको शिक्षा शाखाले अनलाइनमा आधारित शिक्षणसिकाइको अनुगमन गरी पृष्ठपोषण दिएको भए यस पद्दतिको शिक्षणसिकाइलाई अझ सहज तरिकाले अगाडि बढाउन सकिने उहाँको अपेक्षासहितको तर्क छ ।

अनलाइनमा आधारित शिक्षणसिकाइ कार्यकलाप सञ्चालन गरेका कारणले शिक्षकहरुमा अनलाइन पहुँच बढको, उहाँहरुमा फरक किसिमको शिक्षणसिकाइको क्षमता बढेको, विषम परिस्थितिमा पनि विद्यार्थीहरुलाई सिकाइ कार्यकलापमा सहभागी गराउन सकिएको, आ–आफ्नै बासस्थानबाट शिक्षणसिकाइमा सहभागी हुनुपर्ने भएकाले बालबालिकाहरुको सिकाइमा अभिभावकहरुको सहभागिता बढेको, बन्दाबन्दीका समयमा पनि अभिभावकसँग सम्पर्क गरी सम्बन्ध बढाउन सकिएको जस्ता अनलाइनमा आधारित शिक्षणसिकाइका फाइदाहरु बताउनुहुन्छ सकारात्मक सोचका धनी र ऊर्जाशील निज प्रधानाध्यापक ।

समस्या र चुनौतीहरुका कित्तामा स्थानीय तहले यस पद्धतिको शिक्षणसिकाइका लागि आर्थिक लगानी र प्राविधिक वातावरण बनाउन नसकेको, एउटै घरबाट बढीमा ५ जनासम्म विद्यार्थीहरु पढ्न आउने हुँदा सबैका लागि अनलाइनमा आधारित सिकाइमा सामेल हुन साधनको व्यवस्था हुन नसकेको, अभिभावकहरुसँग भएका साधन र त्यस घरबाट पढ्ने विद्यार्थी संख्याका आधारमा विद्यालयको कार्यतालिका बनाएर काम गर्नु पर्दा कठिनाइ भएको, अभिभावकहरुमा सचेतनाको कमी, एसइइ परीक्षामा सामेल हुने क्षमतावान विद्यार्थीहरुले आफ्नो क्षमता देखाउन नपाएको भन्ने गुनासो गरेका साथै सामान्य क्षमता भएका विद्यार्थीहरुले ‘कक्षा ११ मा पढ्न पाइहालिन्छ किन अनावश्यक दुःख गर्ने नि’ भनेर अनलाइन माध्यमबाट अध्ययनका लागि जाँगर बढाउन नसकेको उहाँले बताउनुभयो ।

अनलाइनमा आधारित शिक्षणसिकाइका समस्या र चुनौतीका रुपमा कक्षा १० विद्यार्थीसँग सम्बन्धित कुराले विद्यार्थीहरु जीवनका लागि सिक्ने होइन उनीहरु त जाँचका लागि पो पढ्दा रहेछन् भन्ने देखिन्छ ।

बन्दाबन्दीका समयमा देशभरिका धेरै विद्यालयहरुले अनलाइनमा आधारित शिक्षणसिकाइको सुरुवात गरे होलान् । यसको अभिलेख सायद सम्बन्धित स्थानीय तहहरुले राखेको हुनुपर्छ । विद्यालयहरुले अनलाइनमा आधारित शिक्षणसिकाइ कार्यकलाप सञ्चालन गरेका सम्बन्धमा निम्न प्रश्नहरु आउनसक्छन् जस्तै; बन्दाबन्दीका समयमा तीनै तहका सरकारले अनलाइनमा आधारित शिक्षणसिकाइका लागि गरेका कामहरु केके हुन् त ?

उनीहरुले गरेका प्रयासहरु पर्याप्त थिए त ? यति सानो देशमा तीनै तहको निर्वाचित सरकार हुँदा पनि किन अनलाइन पहुँच सर्वसुलभ हुन सकेन ? अनलाइनमा आधारित शिक्षणसिकाइ गर्ने विद्यालयहरुलाई क–कसले कसरी प्रोत्साहित गरेका छन् ?

माध्यमिक तहसम्मको शिक्षाको अधिकार पाएका सबै स्थानीय तहहरुले अनलाइनमा आधारित शिक्षणसिकाइका लागि आवश्यक चासो दिएका त छन् ? श्रोतसाधन भएका सबै विद्यालयहरुले अनलाइनमा आधारित शिक्षणसिकाइ कार्यकलाप सञ्चालन गरेका छन् त ? स्थानीय तहको शिक्षा तथा खेलकुद शाखाहरु अनलाइनमा आधारित शिक्षणसिकाइका सम्बन्धमा क्षमतावान र यसको प्रवर्धनका लागि प्रयासरत रहेका छन् ?

प्रधानाध्यापकको जिम्मेवारी पाएको एक वर्ष पनि नपुगेका महिला प्रधानाध्यापकले अनलाइनमा आधारित शिक्षणसिकाइका लागि यति प्रयास गर्नुभयो भने लामो समयसम्म प्रधानाध्यापकको अनुभव गर्नुभएका प्रधानाध्यापकहरुका प्रयासहरु कस्ता होलान् ? विद्यार्थीहरुलाई जाँचका लागि पढाउने होइन जीवनलाई सहज बनाउनका लागि सिक्नुपर्छ भनी कहिलेदेखि सिकाउने हो ?

माथि उल्लेख भएका र यस्तै अन्य प्रश्नहरुको पहिचान र तिनीहरुको उत्तरको खोजी गरेर अगाडि बढ्नु नै अहिलेको आवश्यकता र उत्तम विकल्प पनि हो । समस्याका बारेमा जानकार व्यक्ति तथा संस्थालाई समस्या समाधानका उपायहरुका बारेमा पनि जानकारी हुनुपर्छ र हुन्छ पनि । समस्या र समाधानका उपायहरुको पहिचान सहभागितामूलक तरिकाले गर्ने संस्कारको विकास गर्नु आवश्यक छ ।

यस प्रसंगमा विषयवस्तुसँग जानकार विज्ञको पनि सहयोग लिइयो भने समस्या समाधानमा पुग्न सहज हुन्छ । सहभागितामूलक पद्धतिबाट कार्यसम्पादनमा सहजता हुन्छ साथै समूहमा सिक्ने/सिकाउने र काम गर्ने संस्कारको विकास भई सरोकारवालाहरुमा जिम्मेवारी भावनाको विकास हुनुका साथै उत्पादकत्व बढ्छ । उत्पादकत्व उच्च हुनु एक्काइसौं शताब्दीको एउटा सिकाइ पनि हो ।

समस्या भनेको समाधानको जननी पनि हो । एक्काइसौं शताब्दीलाई हामी सूचना र प्रविधिको युग पनि भन्छौं । अनलाइनमा आधारित शिक्षणसिकाइ भनेको प्रविधिसँग जोडिएको विषय भएकाले यस पद्धतिबाट सिक्नु/सिकाउनु भनेको युगलाई आत्मसात गरेर अगाडि बढ्नु पनि हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement