डा. केसीको निशानामा गोपाल खड्का, केसीकाे यस्तो चेतावनी


काठमाडौं–चिकित्सा क्षेत्रको सुधार एवं भ्रष्टाचारविरुद्ध सत्याग्रह थाल्दै आएका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसीले अबको निशाना आयल निगमका प्रमुख गोपाल खड्कालाई बनाएका छन्।

 

सरकारले काठमाडौं मेडिकल कलेजको सम्बन्धन खारेज गरेपछि बुधबारबाट सुरु गर्ने भनेको आमरण अनशन स्थगन गरेका डा. केसीले खड्कालाई कारबाहीको माग गरेका हुन्।

 

आयल निगमका प्रमुख खड्कालाई भ्रष्टाचारको आरोप लागेपनि सरकार चुप लागेर बसिरहेका बेला डा. केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आन्तरिक राजस्व विभागका निलम्बित प्रमुखदेखि अरबौं भ्रष्टाचार र अनियमिततामा मुछिएका आयल निगमका प्रमुख गोपाल खड्का लगायत चिनिएका भ्रष्टहरुलाई राजनीतिक दलहरुले दिएको संरक्षणले भ्रष्टाचार र लुटतन्त्रलाईठहर भएको केसीले बताएका छन्।

 

काठमाडौं मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने गरी भएको निर्णय सकारात्मक भएपनि चिकित्सा शिक्षा ऐन सही रुपमा नआउन्जेलसम्म आन्दोलन जारी रहने उनले चेतावनी दिएका छन्।

 

यस्तो छ विज्ञप्ति
प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु

 

मेडिकल शिक्षा र स्वास्थ्य शिक्षामा सुधारका लागि हामीले लामो अभियान चलाउँदै आएका छौं । त्यस क्रममा सरकारले बारम्बार हामीसित सम्झौता गर्ने तर तिनको कार्यान्वयन गर्नुको उल्टो तिनको उल्टो हुने गरी काम गर्ने प्रवृत्ति देखिएको छ ।

 

यसैबीच हामी सत्याग्रहकै बेला चिकित्साा शिक्षा ऐन जारी नहुन्जेल कुनै पनि नयाँ मेडिकल कलेज नखोल्ने भनेर विगतमा बारम्बार भएका सम्झौताहरु, माथेमा प्रतिवेदन र सरकारको बारम्बारको प्रतिबद्धताका बाबजुद त्रिवि कार्यकारी परिषदका पदाधिकारीहरुले काठमाडौं उपत्यकाभित्रै खाली रहेको एउटा आवासीय भवनलाई मेडिकल कलेजका रुपमा जालझेलपुर्वक सम्बन्धन दिएका थिए।

 

हामीसँग लगातार सम्झौता भए अनुसार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम०लाई थप स्वायत्तता दिनको सट्टा यहाँ भएका अधिकार समेत खोसेर लगेका त्रिवि पदाधिकारीहरुले ती अधिकार दुरुपयोग गर्दै त्यस्तो सम्बन्धन दिएका थिए । त्यस्तो जघन्य शैक्षिक अपराध हुँदा पनि राज्यका अन्य निकायहरु मौन बसेकाले अरु जिम्मेवार व्यक्तिहरुको समेत त्यसमा मिलेमतो भएको देखिएको थियो ।

 

आज सो मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने गरी भएको निर्णय सकारात्मक छ तर जबसम्म चिकित्सा शिक्षा ऐन सही रुपमा आउँदैन, तबसम्म यस्ता जालझेलपूर्ण निर्णयहरु भइरहने देखिन्छ । हामीले दिएका सुझाव र माथेमा प्रतिवेदन अनुसार परिमार्जनसहित चिकित्सा शिक्षा विधेयक पारित गर्ने कामप्रति संसदले देखाएको उदासीनताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । काठमाडौं नेशनलको सम्बन्धन खारेजी र लगत्तै आउँदै गरेका चाडपर्वका कारण हामीले आजदेखि शुरु गर्ने भनेको सत्याग्रहको कार्यक्रम तत्कालका लागि स्थगन गरेका छौं ।

 

तुरुन्त परिमार्जनसहित चिकित्सा शिक्षा ऐन पारित गर्न तथा हाम्रा अन्य मागहरु पूरा गर्न सरकारलाई यसै विज्ञप्तिमार्फत स्मरण गराउँछौं । अन्य मागहरु यी हुन्ः जघन्य शैक्षिक अपराधमा संलग्न त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरी कारवाही गर्दै आइओएमबाट खोसेर लगिएका अधिकारहरु तत्काल आइओएममै फर्काउनुपर्छ । काठमाडौं नेशनलको खाली भवनलाई मापदण्ड पुगेको भनेर प्रतिवेदन दिने टोली तथा सो कलेजसँगै अरु तीन उस्तै कलेजहरुमा मापदण्ड पुगेको भनेर फर्जी प्रतिवेदन दिने व्यक्तिहरुमाथि तत्काल छानविन गरेर कारवाही हुनुपर्छ । यी मागहरु पूरा नभएमा तथा विगतका सम्झौता प्रतिकुल हुने गरी कुनै पनि काम भएमा तत्काल सत्याग्रह शुरु गर्ने जानकारी गराउँछु ।

 

साथै, आन्तरिक राजस्व विभागका निलम्बित प्रमुखदेखि अरबौं भ्रष्टाचार र अनियमिततामा मुछिएका आयल निगमका प्रमुख गोपाल खड्का लगायत चिनिएका भ्रष्टहरुलाई राजनीतिक दलहरुले दिएको संरक्षणले भ्रष्टाचार र लुटतन्त्रलाई झनै बढावा दिएको छ । सञ्चार माध्यममा प्रमाणसहित भ्रष्टाचारका विवरण आउँदा पनि सरकारले बर्खास्त नगर्नु र अख्तियारले समेत छानविन नगर्नुले निरपेक्ष दण्डहीनता सिर्जना गरेको छ । त्रिवि पदाधिकारीहरुको चर्को अनियमितताबारे दर्जनौं उजुरीहरु पर्दासमेत अख्तियारले छानविन अघि नबढाउनुले पनि संवैधानिक निकायको कार्य सम्पादनमाथि प्रश्न उठेको छ । यस्तो चौतर्फी भ्रष्टाचार र दण्डहीनता पनि हाम्रो अभियानको अबको चरणको निशाना बन्ने जानकारी गराउन चाहन्छौं ।

 

अन्तमा, पारदर्शिता ल्याउन र शक्तिमा हुनेहरुलाई जवाफदेही बनाउन विभिन्न बौद्धिक वर्ग, नागरिक समाज र सञ्चार माध्यमहरुले खेलेको भुमिकालाई सराहना गर्दै भविष्यमा अझ सशक्त र रचनात्मक रुपमा त्यस्तो भुमिका निर्वाह हुनेछ भन्ने आशा गर्दछु ।

 

 

डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं
२०७४।५।२१

प्रतिक्रिया दिनुहोस
Advertisement