फुटबल समर्थक र पत्रकारमाथि मुक्का हान्ने डिएसपीमाथि छानबिन हुने


कठमाडौं – दशरथ रङ्गशालामा खेल हेर्न पुगेका समर्थक र पत्रकारमाथि कुटपिट गर्ने डिएसपीमाथि छानबिन हुने भएको छ । पत्रकार र सर्वसाधरणमाथि लाठी, लात्ती र मुक्का बर्साउने कालीमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवर र सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोष सिंह राठौरमाथि छानबिन हुने भएको हो ।

दुई जना प्रहरी अफिसरले सर्वसाधारणलाई अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएसँगै प्रहरीको विरोध भइरहेको छ । कुटपिटमा संलग्न प्रहरीमाथि कडा कारबाही हुनुपर्ने माग उठिरहेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले घटनाको बारेमा भर्खरै जानकारी पाएको भन्दै घटनाबारे छानबिन हुने बताएका हुन् । उनले सर्वसाधारणमाथि कुटपिट हुने अफिसहरु ड्युटीमै रहेको जानकारी दिए ।

डिआइजी थापाले काठमाडौंपाटीसँग कुरा गर्दै भने ‘मलाई भर्खरै घटनाबारे रिपोर्टिङ भइरहेको छ । घटनामा भएको के हो डिटेलमा बुझिरहेको छु । प्रहरी दोषी देखिए उनीहरुलाई कारवाही हुन्छ ।’

मङ्गलबार नेपाल र भुटानबीच हुने फुटबलको फाइनल खेल हेर्नका लागि टिकट किन्न रङ्गशाला पुगेका सर्वसाधारणमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।

प्रहरीले सर्वसाधरणमाथि गरेको ज्यादतीको तस्विर र भिडियो लिइरहेका नागरिक दैनिकका पत्रकार सुमन चापागाइँमाथि पनि एक डिएसपीले मुक्का प्रहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement