दुबईसँग नयाँ श्रम समझदारी, कामदारको खर्च रोजगारदाताले नै व्यहोर्ने


काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) दुबईसँग अब नयाँ सम्झौता अनुसार मात्र नेपाली कामदार आपूर्ति हुने भएको छ । दुई दिनदेखि युएईका श्रम अधिकारीसँग काठमाडौंमा भएको बैठकमा समझदारीका लागि सहमति जुटेको हो । दुबै देशका प्राविधिक टोली सन् २००७ को श्रम समझदारीलाई विस्थापन गर्ने गरी नयाँ एमओयू गर्न सबै विषयमा सहमतिमा पुगेको रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

प्राविधिक टोलीले टुंगाएको श्रम समझदारीको मस्यौदालाई दुवै देशको मन्त्रिपरिषदको बैठकले निर्णय गर्नसाथ हस्ताक्षर हुने भएको छ । ती अधिकारीका अनुसार यथासक्य छिटो हस्ताक्षर हुनेछ । नेपाली श्रमिकको श्रमिक आपूर्ति प्रक्रिया अन्तर्रा्ष्ट्रिय श्रम संगठन आइएलओको सिद्धान्त अनुसार श्रमिकको सम्पूर्ण लागत शुल्क रोजगारदाताले व्यहोर्ने, म्यानपावरलाई रोजगारदाताले नै सेवा शुल्क उपलब्ध गराउने, श्रमिकको २४ घण्टा नै बीमा हुने, श्रमिकलाई स्वस्थकर वासस्थान उपलब्ध गराउने विषयमा सहमति जुटेको हो ।

यसअघि २००७ मा भएको श्रम समझदारीमा कामदारको भर्ना प्रक्रियामा लाग्ने सेवा शुल्कबारे उल्लेख गरेको छैन । करारपत्र नेपालीमा रहनेबारे केही बताइएको छैन । श्रमिकले पाउने सामाजिक सुरक्षा र कानुनी उपचारबारे उल्लेख छैन ।श्रम समझदारी भएको १२ वर्षपछि नेपालले नयां ढंगले समझदारी गर्ने प्रक्रिया अगाडि बढाएको हो । युएईमा झन्डै २ लाख नेपाली कार्यरत छन् । पछिल्लो समयमा सेवा क्षेत्रमा काम गर्ने नेपालीको लागि युएई आकर्षणको केन्द्र मानिएको छ ।

नेपालले यसअघि नै युएईसँग एमओयू गरे पनि त्यो कामदारको पूर्ण हितमा थिएन । अब अन्तर्रा्ष्ट्रिय रुपमा स्थापित श्रम अधिकारका सवालहरु राखेर नयाँ समझदारी गर्न सहमति जुटेको छ । एमओयू गर्दा श्रमिकलाई व्ययभार नपर्ने गरी आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी हुने भएकाे छ । यसअघि नेपाली टोलीले माघ १६ र १७ गते यूएईसँग श्रम समझदारीबारे वार्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement