दुबईकी रानीलाई ज्यानको खतरा, शरण माग्दै पुगिन् लण्डन


एजेन्सी – दुबईका शासक एवम् उपराष्ट्रपति शेख मोहम्मद अल मकतुमकि पत्नी राजकुमारी हया बिंत अल हुसेन अहिले लण्डनमा लुकेर बसेको बताइएको छ ।

आफ्ना पतिलाई छोडेर हिंडेपछि उनले असुरक्षित महसुस गरेको बताइएको छ । ६९ वर्षीय शेख मोहम्मदले इन्स्ट्राग्राममा एक कविता पोस्ट गरेर कुनै अज्ञात महिलाले धोखा दिएको र विश्वासघात गरेको आरोप लगाएका छन् ।

अर्बपति शेख मोहम्मद बेलायतमा ‘घुडदौड सर्किट’का मालिक हुन् भने उनले बेलायती महारानीसँग रेसकोर्समा गफ गर्दै गरेको देखिनुलाई सामान्य मानिन्छ । जोर्डनमा पैदा भएकी बेलायतमा पढेकी ४५ वर्षिया हयाले २००४मा शेख मोहम्मदसँग विवाह गरेकी थिइन् । उनी शेखकी छैठौं पत्नी हुन् । शेखका विभिन्न पत्नी मार्फत २३ बच्चा भएको बताइन्छ ।

राजकुमारी हया दुबईबाट भागेर जर्मनी पुगेकी थिइन् । त्यहाँ उनले शरण मागेकी थिइन् । तर त्यसपछि उनी बेलायत गइन् । उनी अहिले बेलायतको केन्द्रमा रहेको केनसिंगटन प्यालेस गार्डेनमा लगभग सात सय करोड रुपियाँको आवासमा रहेर उच्च अदालतमा कानुनी लडाइको तयारी गरिरहेकी छन् । उनी किन दुबईबाट भागिन् र उनलाई को बाट ज्यानको खतरा छ भन्ने कुरा खुलेको छैन ।

उनी निकट स्रोतका अनुसार यो वर्ष दुबई फर्केकी शेखकी छोरी शेखा लतीफाका बारेमा रहस्यपूर्ण कुरा उनले चाल पाएकी थिइन् । शेखा एक फ्रान्सेली व्यक्तिको सहयोगमा डुंगा मार्फत भागेकी थिइन् । तर उनलाई भारतको तटमा हतियार रक्षकहरुले हिरासतमा लिएर दुबई फर्काइदिएका थिए । यो विषयमा राजकुमारी हया र आयरल्याण्डका पूर्व राष्ट्रपति मोरिस रोबिन्सनले दुबई प्रशासनको पक्ष लिएका थिए । दुबईको प्रशासनले लतिफा उत्पीडनको शिकार भएको हुन सक्ने र स्वदेश आएपछि सुरक्षित रहेको जनाएको थियो ।

तर अधिकारकर्मी संस्थाहरुले उनलाई इच्छाविपरीत रोकिएको आरोप लगाएका थिए । यसपछि शेखको परिवारको बारेमा धेरै गोप्य कुरा राजकुमारीलाई थाहा भएको र उनी असुरक्षित महसुस गर्न थालेपछि उनी दुवईबाट भागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement