काठमाण्डु– जल तथा मौसम विज्ञान विभागका मौसमविद् जलवायुका कारण वर्षाको स्वरुप परिवर्तन भएको बताएका छन् । मौसमविद् विनु महर्जनले छोटो अवधिमा धेरै वर्षा हुँदा उपत्यकामा डुबानको समस्या हुने बताएकी हुन् ।
‘पहिला पहिला दुई–तीन दिनसम्म हल्का हल्का वर्षा भइरहन्थ्यो । तर दिनभरजस्तो हुने वर्षा अहिले एक घण्टा जतिमा हुने गरेको छ, उदाहरणका लागि, बबरमहलमा बिहीबार साँझ ४७ मिलीमिटर हाहाहारीमा वर्षा एक घण्टाको अवधिमै भयो, दिनभरिको समयमा ४७ मिलीमिटर वर्षा भएको भए डुबान नहुन सक्थ्यो । पछिल्लो समय वर्षाको स्वरुप परिवर्तन छ ।’ उनले भनिन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता तथा जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालले पछिल्ला वर्षहरूमा छोटो समयमा अत्यधिक वर्षा हुने घटनामा वृद्धि हुनु जलवायु परिवर्तनको सम्भावित प्रभावका रूपमा लिन सकिने बताएका छन् ।
यद्यपि, यसबारे थप वैज्ञानिक अनुसन्धान र विश्लेषण आवश्यक रहेको उनको भनाइ छ । ढकालका अनुसार पछिल्ला वर्षहरूमा छोटो अवधिमा अत्यधिक वर्षा हुँदा बाढी, डुबान र पूर्वाधारमा ठूलो क्षति पुग्ने गरेको छ । यस्ता घटनाबाट भएको हानि–नोक्सानीको तथ्यांक र अनुभवले अन्तरराष्ट्रिय जलवायु वित्त तथा हानि–नोक्सानी कोषमा नेपालको पहुँच विस्तार गर्न आधार प्रदान गर्न सक्ने उनले बताए ।
ढकालले जलवायु परिवर्तनका कारण मौसमीय चरम घटनाको जोखिम बढिरहेका बेला गाउँबाट सहरतर्फको तीव्र बसाइँसराइले सहरी क्षेत्रमाथि थप दबाब सृजना गरेको बताए ।




प्रतिक्रिया