न दुलाहा आए, न जन्ती


काठमाडौँ – बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो । करिब सात सय जनाका लागि खानपानको व्यवस्था थियो । छोरीको बिहे भव्य बनाउन परिवारले कुनै कसर बाँकी राखेको थिएन । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो ।

काठमाडौंमा रहेका आफ्ना जिल्लावासी र चिनेजानेका सबैलाई केटीको परिवारले निम्त्याएको थियो । बिहान १० बजेदेखि आउनेजाने निम्तालुको लर्को चलिरहँदा १२ बजे आउने भनेका जन्ती आइपुगेनन् । केटी पक्ष फोन डायल गर्न थाले ।

आफूलाई इन्जिनियर बताउने वर आश्रेय बस्नेतले फोनमा आत्तिएको स्वर पारेर आफ्ना माइलो बुवा अचानक बितेकाले आउन ढिला भएको बताउँदै भने, ‘यताको तारतम्य मिलाएर जन्ती हिँड्छ ।’ सिनामंगल घर र आफूलाई डाक्टरको छोरा बताउने उनी दिन ढल्किँदा पनि जन्ती लिएर नआएपछि केटी पक्षमा हल्लीखल्ली मच्चियो । जन्ती आउने आसमा सिंगो दिन बिताएपछि केटी पक्ष सशंकित भयो । आफन्तले महानगरीय प्रहरी वृत्त बानेश्वरमा खबर गरे । वृत्तका डीएसपी दुर्गा रेग्मीसहितको टोली पार्टी प्यालेस पुगेर सबै जानकारी लियो । डीएसपी रेग्मीले भने, ‘केटी पक्षका सबैको अनुहार मलिन थियो । उनीहरूको कुरा सुनेर म पनि चकित परें ।’

१५ दिनअघि काठमाडौंकै एक भव्य होटलमा भएको टीकाटालोपछि सोमबार बिहेको मिति टुंगो गरिएको थियो । राति अबेरसम्म पनि न जन्ती न त केटा पक्षका कोही आफन्त उपस्थित नभएपछि केटी पक्ष घर फर्कियो । केटीका आफन्तका अनुसार बिहेको कुरा छिन्ने टीकाटालोमा पनि बस्नेत चारजना साथीमात्रै लिएर आएका थिए । ती आफन्तका अनुसार इन्गेजमेन्टमा चार तोला सुनका विभिन्न गहना केटा पक्षलाई दिइएको थियो । केटाले आफ्नो भनेको घर पनि हेर्न गएका केटी पक्षले उनका डाक्टर पितालाई भने भेट्न पाएका थिएनन् । ‘बुवा धेरै व्यस्त हुनुहुन्छ’ भन्दै उनले हजुरआमा भनेर एक वृद्धा चिनाएका थिए । कुराकानी राम्रै भएपछि विवाह अगावै केटी पक्षले पाँच लाखजतिको फर्निचर पनि दाइजो भन्दै दिएको थियो ।

बिहेका दिन केटा बेपत्ता भएपछि केटी पक्षको ओठतालु सुकेको थियो । बिहेका लागि खर्च भएको १५ लाखभन्दा पनि इज्जतमा धक्का लागेको पीर आत्तिएका उनीहरूलाई ढाडस दिएर प्रहरी टोली निस्कियो । न केटाको फोन लाग्यो न उनी फेला परे । उनको भनिएको घरमा पुग्दा थाहा भयो, उनी त्यहाँ डेरा लिएर एउटा कोठामा बसेका रहेछन् । ‘हामी पुग्दा कोठाको ढोकामा ताला थियो,’ डीएसपी रेग्मीले भने, ‘केटी पक्षलाई हजुरआमा भनेर चिनाइएकी मान्छे पनि फेला परिनन् ।’ विवाहको निम्तो कार्डका लागि केटाले दिएको बाबु र आमाको नाम पनि फर्जी भएको खुल्यो । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेको प्रहरीले पत्तो पायो । केटाको कोठामा न नयाँ फर्निचर थिए, न त महँगा वस्तु । केटी पक्षले दिएको फोटो र विवरण प्रहरीले आफ्ना युनिटहरूमा पठायो ।

काठमाडौंबाट पठाइएको फोटोमा रहेका बस्नेतलाई बुधबार पोखरा विमानस्थलमा प्रहरीले देख्यो । रोक्यो । चेकजाँच गर्दा उनको साथबाट चार हजार अमेरिकी डलर बरामद भयो । विदेशी मुद्राको स्रोत नखुलेपछि प्रहरीले उनलाई काठमाडौंको साटो थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको बुटवल कार्यालय पठाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement