काठमाण्डु- रोल्पाको थवाङ गाउँपालिका–१ जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये एउटै परिवारका ७ जना रहेका छन्।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुराका एकै परिवारका ७ जनाको मृत्यु भएपछि गाउँ शोकमग्न बनेको छ। मृतकहरू एउटै परिवारका दुई दाजुभाइका परिवारका सदस्य रहेको जनाइएको छ। दाजुको परिवारबाट उनका छोरा, बुहारी, श्रीमती र नाति गरी ४ जनाले ज्यान गुमाएका छन् भने भाइको परिवारबाट श्रीमती, छोरी र छोरा गरी ३ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ३२ वर्षीय गोरख बहादुर बुढाथोकी, ५३ वर्षीया तीलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बुढाथोकी, १० वर्षीय दिव्यन बुढाथोकी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीय सुदिप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन्। उनीहरू एकै परिवारका रहेको वडा अध्यक्ष बीरेन्द्र बस्नेतले जानकारी दिएका छन्।
बस्नेतका अनुसार दुर्घटनामा ज्यान गुमाउने २० जनामध्ये ९ जना दाङका, ९ जना सिस्ने–५ टाकुराका र २ जना भूमे गाउँपालिका–५ का रहेका छन्।रुकुमपूर्वबाट थवाङ गाउँपालिका–१ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो दुर्घटनामा परेको थियो। दुर्घटनामा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालकको ज्यान गएको छ।
दुर्घटनामा रुकुमपूर्व सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते भएका छन्। उनलाई राति नै अस्पताल पुर्याएर उपचार सुरु गरिएको जनाइएको छ।




प्रतिक्रिया