काठमाण्डु- केम्यान टापुहरूको दक्षिणपश्चिममा क्यारिबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि केही टापु र देशहरूलाई सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्र छोड्न आग्रह गरिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयानुसार शनिबार साँझ ६ः२३ बजे समुद्रको बीचमा यो भूकम्प गएको र यसको गहिराइ १० किलोमिटर रहेको छ । यसको केन्द्रबिन्दु केम्यान टापुको जर्ज टाउनबाट २०९ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो ।
अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले अमेरिकी मुख्य भूमिमा सुनामीको कुनै चेतावनी नभएको बताएको छ । तर, पोर्टो रिको र अमेरिकी भर्जिन टापुहरूको लागि सुनामी चेतावनी जारी गरेको थियो, जुन पछि रद्द गरिएको छ ।
स्थानीय सञ्चार माध्यमहरूका अनुसार पोर्टो रिकोको उत्तरपश्चिमी क्षेत्रमा खतरा बढेपछि मानिसहरू तटीय क्षेत्र छोड्न बाध्य भएका छन् ।
जोखिम व्यवस्थापन केम्यान टापुहरूले तट नजिकै रहेका बासिन्दाहरूलाई भित्री र अग्लो जमिनमा सर्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय सुनामी सूचना केन्द्रले क्युबा, जमैका, मेक्सिको, हन्डुरस, बहामास, हाइटी, टक्र्स र काइकोस, सान एन्ड्रेस प्रोभिडेन्स, बेलिज, डोमिनिकन रिपब्लिक, कोलम्बिया, पनामा, पोर्टो रिको, कोस्टारिका, अरुबा, बोनेयर, कुराकाओ, अमेरिकी भर्जिन टापुहरू, ब्रिटिश भर्जिन टापुहरू र साबाको केही तटहरूमा आगामी तीन घण्टाभित्र खतरनाक सुनामी छालहरू आउन सक्ने चेतावनी दिएको छ ।
अमेरिकी सरकारको राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले क्युबाका केही तटहरूमा ज्वारभाटाको सतहभन्दा १ देखि ३ मिटर माथिसम्म पुग्ने सुनामी छालहरू आउन सक्ने बताएको छ ।
प्रतिक्रिया