दुर्लभ मानिन्छ दोहोरो भूँइचालो

दुर्लभ मानिन्छ दोहोरो भूँइचालो

वैज्ञानिकहरूका अनसार ‘डबलेट’ भूकम्प अत्यन्त विनाशकारी हुन्छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भेनेजुएलामा बुधबार साँझ गएका दुई शक्तिशाली भूकम्पमा हालसम्म करिब एक हजार जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा ४ हजार जना घाइते भएका छन् ।

बुधबार केही सेकेन्डको अन्तरालमा भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको थियो । तीमध्ये दोस्रो भूकम्पको तीव्रता ७.५ मापन गरिएको थियो ।

यो भूकम्पलाई भेनेजुएलामा पछिल्लो १२५ वर्षयताकै सबैभन्दा शक्तिशाली मानिएको छ ।

यस विपत्तिले देशभर ठूलो विनाश मच्चाएको छ । धेरै भवनहरू पूर्ण रूपमा भत्किएका छन् भने धेरै बस्तीहरू ध्वस्त भएका छन् । हजारौं परिवारको सपना भग्नावशेषमा पुरिएको छ ।

भेनेजुएलाका अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार मृतक र घाइतेको कुल संख्या १० हजारभन्दा बढी पुग्न सक्छ ।

अहिले पनि सयौँ मानिस अझै भग्नावशेषमुनि फसेको बताइएको छ । भेनेजुएला सरकारका अनुसार बेपत्ता हुनेको संख्या ५० हजार नाघेको छ ।

केही निकायहरूले मृतकको संख्या एक लाखसम्म पुग्न सक्ने अनुमान पनि गरेका छन् । यस विनाशपछि भेनेजुएलामा यति ठूलो भूकम्प किन आयो भन्ने प्रश्न उठ्न थालेको छ ।

भूकम्प किन आयो?

भेनेजुएलामा भूकम्प आउनुको मुख्य कारण त्यहाँको भौगोलिक अवस्था हो । यो देश क्यारिबियन र दक्षिण अमेरिकी (साउथ अमेरिकन) टेक्टोनिक प्लेटहरूको सीमामा अवस्थित छ । यी दुई प्लेट एकअर्कासँग ठोक्किने तथा सर्ने भएकाले यो क्षेत्र सधैं भूकम्पको उच्च जोखिममा रहने गर्छ ।

बुधबार साँझ पनि यही क्षेत्रमा भएको भूगर्भीय गतिविधिका कारण विनाशकारी भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार बुधबार ७ म्याग्निच्युडभन्दा माथिका दुई भूकम्पमध्ये दोस्रो भूकम्प अझ शक्तिशाली थियो ।

यो भूकम्प क्यारिबियन र दक्षिण अमेरिकी टेक्टोनिक प्लेटहरूको सीमामा भएको स्ट्राइक–स्लिप फल्टिङका कारण आएको हो ।

स्ट्राइक–स्लिप फल्टिङ भन्नाले दुई टेक्टोनिक प्लेटबीचको चिरा (फल्ट) क्षैतिज रूपमा एकअर्कासँग सर्ने प्रक्रियालाई जनाउँछ । यस्तो गतिविधि तीव्र हुँदा शक्तिशाली भूकम्प उत्पन्न हुन्छ । बुधबार साँझ यही कारण ७.१ म्याग्निच्युडपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प आएको थियो ।

दुर्लभ ‘अर्थक्वेक डबलेट’

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भेनेजुएलामा एक मिनेटभन्दा कम समयको अन्तरमा आएका यी दुई शक्तिशाली भूकम्पलाई ‘अर्थक्वेक डबलेट’ भनिन्छ । यो निकै दुर्लभ घटना हो ।

डबलेट भूकम्पमा लगभग समान तीव्रताका दुई शक्तिशाली भूकम्प निकै छोटो समयको अन्तरमा आउँछन्, जसले एउटै भूकम्पभन्दा बढी क्षति पुर्‍याउन सक्छ ।

यस घटनामा सुरुमा ७.२ म्याग्निच्युडको भूकम्पले उत्तरी भेनेजुएलालाई हल्लाएको थियो । त्यसको केवल ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को अझ शक्तिशाली भूकम्प आएको थियो ।

सामान्यतया कुनै शक्तिशाली मुख्य भूकम्पपछि त्यसभन्दा कमजोर परकम्प (आफ्टरशक) आउँछन् । तर डबलेटमा दोस्रो भूकम्प पहिलोभन्दा पनि शक्तिशाली हुन सक्छ, जसले क्षति अझ बढाउँछ ।

स्पेनको म्याड्रिडस्थित जियोलोजिकल एन्ड माइनिङ इन्स्टिच्युटका भूकम्पविद् राउल पेरेज–लोपेजले भने, ‘डबलेट भूकम्प अत्यन्त विनाशकारी हुन्छन् । सामान्य भूकम्पपछि आउने परकम्पहरू मुख्य भूकम्पभन्दा कमजोर हुन्छन्, तर डबलेटमा दुवै भूकम्पको ऊर्जा लगभग समान हुन्छ ।’

भेनेजुएलामा पनि दोस्रो भूकम्प पहिलोभन्दा बढी शक्तिशाली भएकाले व्यापक विनाश भएको बताइएको छ ।

एउटा भूकम्प कि दुई ?

थोरै कम समयको अन्तरालमा दुई ठूला भूकम्प गएपछि यसलाई एउटा मान्ने कि दुई भन्ने बहस पनि चलेको छ ।

यद्यपि केही वैज्ञानिकले आगामी दिनमा थप तथ्याङ्क आएपछि यो वास्तवमा दुई छुट्टाछुट्टै भूकम्प नभई एउटा ठूलो भूकम्पको क्रमिक प्रक्रिया पनि हुन सक्ने अनुमान गरेका छन् ।

भूकम्पविद् जुडिथ हबार्डका अनुसार यो घटनाको पूर्ण विश्लेषण गरेपछि मात्र यो एउटा भूकम्प थियो वा दुई छुट्टाछुट्टै भूकम्प थिए भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।

दुर्लभ भए पनि नयाँ होइन

डबलेट भूकम्प दुर्लभ मानिन्छ । तर यो क्षेत्रका लागि भने यस्तो घटना पूर्णतः नयाँ होइन । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सन् २०२५ को सेप्टेम्बरमा पनि यही क्षेत्रमा ६.२ र ६.३ म्याग्निच्युडका दुई भूकम्प छोटो अन्तरमा आएका थिए ।

कुन प्रकारका फल्टमा डबलेट भूकम्प आउँछन् भन्नेबारे वैज्ञानिकसँग अझै स्पष्ट जानकारी छैन । यस्ता घटना निकै कम हुने भएकाले कुनै निश्चित नियम बनाउन कठिन भएको भूकँपविदहरूको भनाइ छ ।

७.५ म्याग्निच्युडको ठूलो भूकम्प एकैपटक समाप्त हुँदैन । यो एउटा बिन्दुबाट सुरु भएर फल्टको विभिन्न भागमा क्रमशः फैलिन्छ ।

भेनेजुएलामा पहिलो ७.२ म्याग्निच्युडको कम्पनले थप ऊर्जा उत्पन्न गरी त्यसलाई ७.५ म्याग्निच्युडको ठूलो कम्पनमा रूपान्तरण गरेको पनि हुन सक्छ ।

सामान्यतया यस्तो ठूलो भूकम्प पूरा हुन ३० देखि ४० सेकेन्ड लाग्छ । दोस्रो शक्तिशाली कम्पन पहिलो कम्पनकै क्रममा आएको हुनाले प्रारम्भिक तथ्यांकबाट छुट्याउन कठिन हुन्छ ।

यदि यी दुवै कम्पन एउटै फल्ट फुट्ने प्रक्रियाका दुई चरण हुन् भने यसको कुल शक्ति ७.६ म्याग्निच्युड बराबर हुन सक्ने अनुमान गरिन्छ ।

वैज्ञानिकका लागि महत्वपूर्ण अध्ययन

यस्ता डबलेट भूकम्प दुर्लभ भए पनि वैज्ञानिक अनुसन्धानका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन् । सन् २०२३ मा टर्की र सिरियामा ७.८ र ७.७ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प नौ घण्टाको अन्तरमा आएका थिए, जसले व्यापक विनाश मच्चाएको थियो ।

भेनेजुएलाको यो घटनाले भूकम्पको सुरुवाती केही सेकेन्डमै त्यसको अन्तिम तीव्रता कति हुन सक्छ भन्ने अनुमान गर्ने वैज्ञानिक क्षमता अझ सुधार्न मद्दत पुग्नेछ ।

भूगर्भ वैज्ञानिकहरूका अनुसार सीमित तथ्याङ्क हुँदाहुँदै पनि यस्ता घटनाले वैज्ञानिक अनुसन्धानलाई ठूलो योगदान पुर्‍याउँछन् ।

एजेन्सीको सहयोगमा