काठमाण्डु- आज वैशाख १२ गते । २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।
७.६ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।
काठमाडौँको सुन्धारामा अवस्थित धरहरा परिसरमा भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहने छ । ‘सुरक्षित पूर्वाधार निर्माण गरौँ, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।
यसबीच पश्चिम नेपालमा लगातार भूकम्प गइरहेको छ । बिहीबार साँझ ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।
रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमध्येको पछिल्लो हो ।
पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर ६.४म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् ।
प्रतिक्रिया