वैदेशिक सहायताको ४३ अर्ब सोधभर्ना हुन बाँकी, अर्थमन्त्रीले दिए यस्तो निर्देशन


काठमाडौँ— अर्थमन्त्री डा युवराज खतिवडाले वैदेशिक सहायतामा सञ्चालित आयोजनाको प्रगतिको प्रतिवेदन समयमै पेश गर्न निर्देशन दिएका छन्।

आर्थिक वर्ष २०७५÷७६ को वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरूको कार्यान्वयन सम्बन्धमा सोमबार अर्थ मन्त्रालयमा आयोजित समीक्षा बैठकमा मन्त्री खतिवडाले प्रदेश र स्थानीय तहबाट बजेट र खर्चको प्रतिवेदन हुने व्यवस्था गरिएकाले आउँदा दिनमा प्रदेश र स्थानीयतहबाट हुने खर्चको प्रगति समेत समयमै उपलब्ध भई खर्चको यथार्थ प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन्।

यसैगरी खर्चको वास्तविक प्रतिवेदनका लागि सबै मन्त्रालयहरूले सोझै भुक्तानीको प्रतिवेदन समयमा नै गर्न समेत उनले निर्देशन दिए।

अर्थ मन्त्रालयका अनुसार वैदेशिक सहायता तर्फ चालु आर्थिक वर्ष २०७५÷७६ को जेठ मसान्तसम्म रुपमा ६३ अर्ब सोधभर्ना प्राप्त भएको छ । तर, अझै ४३ अर्ब सोधभर्ना हुन बाँकी रहेको छ । मन्त्री खतिवडाले सरकारको स्रोत र मुलुकको भुक्तानी सन्तुलनमा चाप परेको हुँदा मन्त्रालय तथा सम्वन्धित निकायहरुले यथाशीघ्र सोधभर्ना प्राप्ति तर्फ पहल गर्न निर्देशन दिए। सो अवसरमा चालु आर्थिक वर्षमा सम्पन्न भएका कामको भुक्तानी समेत उनले निर्देशन दिए।

कार्यक्रममा विभिन्न मन्त्रालय र निकायका सचिव र प्रतिनिधिहरुले वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयनमा क्रममा भोगेका समस्याहरु र सोधभर्नाको अवस्थाको बारेमा आफ्नो धारणा राखेका थिए।

अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले चालु आर्थिक वर्षको हालसम्मको समग्र र स्रोतगत खर्चको अवस्था एवं अपेक्षित प्रगति हुन नसकेका वैदेशिक सहायतामा सञ्चालित आयोजनाको बारेमा प्रस्तुतीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement