शिक्षा तालिम केन्द्रद्वारा अनलाइनमा आधारित पाँच दिने पुनर्ताजगी तालिम सञ्चालन


काठमाडौं – शिक्षा तालिम केन्द्र धुलिखेलले अनलाइनमा आधारित पाँच दिने पुनर्ताजगी तालिम सञ्चालन गरेको छ । विश्वव्यापी कोरोना भाइरसको महामारी र बन्दाबन्दीको अवस्थामा तालिम केन्द्रले शिक्षकहरुलाई पाँच दिने अनलाइन तालिम सञ्चालन गरेको हो ।

तालिमको उद्घाटन गर्दै प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले तालिमले शिक्षकको वृतिविकासमा काम लागे पनि कक्षा कोठामा गएर कार्यान्वयन गर्ने कुरामा समस्या आएको बताएका छन् ।

‘एउटा तहको नियुक्ती लिएका हुन्छौं तालिम अर्कै तहको लिइरहेका छौं । जुन तहमा हामीले पठनपाठन गर्छौं त्यो तहको तालिम शिक्षकहरुले लिनु भएको छैन् । जुन तहमा पठनपाठन गर्छौं त्यो तहको तालिम लिन पाउँदैनौं भन्ने गुनासो मन्त्रालयमा आएका छन्’, उनले भने, ‘कसरी यसलाई वैज्ञानिक बनाउने र कसरी अनुशासित हुने भन्ने विषयमा आगामी दिनमा सच्याएर जानुपर्ने भएको छ । स्मार्ट टेक्नोलोजीको प्रयोग गरेर तालिम लिँदै छौं भने हाम्रो दिमाग र हातलाई पनि स्मार्ट बनाउनु जरुरी छ ।’

मन्त्री दुलालले लकडाउनपछि पनि छोटो अवधिका तालिमहरु अनलाइनबाट सञ्चालन गर्नूपर्ने आवश्यकता औल्याएका थिए । उनले आधुनिक टेक्नोलोजीको प्रयोगमा जोड दिनुपर्ने बताए । उनले तालिममा अनुशासित रुपमा सहभागी हुन शिक्षकहरुलाई आग्रह गरेका छन् ।

‘टेक्नोलोजी हाम्रो सुविधाको लागि बनेको कुरा हो । बन्दाबन्दीपछि पनि छोटो अवधिको तालिम अनलाइनबाट सञ्चालन गर्न सकिन्छ’, उनले भने, ‘आगामी दिनमा यो प्रविधिलाई सही ढंगले प्रयोग गरेर काम कारबाहीलाई चुस्त दुरुस्त बनाउने, सिघ्र कार्य सम्पादन गर्नुपर्छ ।’

कार्यक्रममा सिन्धुलीको कमलामाई नागरपालिकाका मेयर खड्ग बहादुर खत्री, शिक्षा विकास निर्देशक चन्द्रप्रसाद लुइटेल, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख दिपेन्द्र सुवेदीले मन्तव्य राखेका थिए । त्यस्तै तालिममा काभ्रे, सिन्धुली र मकवानपुरका ईकाइ प्रमुखहरुको सहभागिता रहेको थियो । तालिम माध्यमिक तहका शिक्षकहरुलाई पाँच समूहमा विभाजन गरेर सञ्चलन भइरहेको छ ।

कार्यक्रमका अध्यक्ष एवं धुलिखेल तालिम केन्द्रका प्रमुख डा. तोयानाथ खनालले संकटकालिन अवस्थामा पनि शिक्षा क्षेत्रमा संलग्न जनशक्तिको क्षमता विकासका लागि अनलाइन तालिमको सुरुवात गरिएको बताए । प्रमुख डा. खनालले अनलाइन तालिमबाट शिक्षकको क्षमता विकास अभिन्न अंगको रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

‘यो संकटको घडीले विभिन्न क्षेत्रमा फरक ढंगले जिउने र आफ्ना प्रयासहरुलाई अगाडि बढाउने अवसर पनि दिएको छ’, कार्यक्रमलाई सम्बोधन गर्दै डा. खनालले भने, ‘तालिमले पेशागत जीवनमा नयाँ मोड दिनेछ । विद्यालय शिक्षामा परिचित र स्थापित व्यक्तित्वको रुपमा स्थापित गर्नका लागि मद्धत गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement