अण्डा उत्पादनको लागत घाटा कम नभएपछि वैज्ञानिक मूल्यको खोजी


चितवन – पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन सकेका छैनन् । जतिसुकै सुधारको प्रयास गर्दा पनि सुधार नभएपछि किसानले विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन् ।

न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेका छन् । यसले समस्या निम्त्याउन थालेपछि लागत मूल्यको खोजी गरिएको हो ।

नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा रेवन्त भट्टराई, डा सुविर सिंह, उपप्राध्यापक डा अनन्त दाहाल र डा विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको छ ।

मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा प्रतिगोटा १६ दशमलव ५६ किसानको लागत मूल्य विज्ञ समूहले निकालेको जानकारी दिए । हाल फार्म मूल्य किसानले सरदर १५ दशमलव ३३ पाउने गरेका छन् । अहिले पाएको मूल्य हालसम्मकै बढी हो । एक वर्ष छ महिना अघि प्रतिगोटा आठमा समेत बिक्री गर्न किसान बाध्य भएका थिए ।

मञ्चले लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको लामिछानेले जानकारी दिए । उनले उद्योग वाणिज्य संघ, उद्योग संघ, च्याम्बर अफ कमर्स, स्थानीय जनप्रतिनिधि, पशु सेवा कार्यालय, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला लगायत सरोकारवालासँग छलफल गरेर कम्तीमा लागत मूल्य धान्ने गरी समर्थन मूल्य तोक्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको हो ।

विज्ञ समूहले फार्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक ब्याज, औषधि, मजदुरलगायतको खर्च समेटेर लागत मूल्य तय गरेको हो । नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले यसअघि धेरै उत्पादन भएको तुलनामा अहिले अण्डाको उत्पादन आधा घटेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement