ईपीजीको नवौं बैठक काठमाडौंमा सुरु हुँदै


काठमाडौं – नेपाल र भारत प्रबुद्ध व्यक्ति समुह ईपीजीको नवौं बैठक शुक्रबार काठमाडौंमा सुरु हुँदैछ । उक्त बैठक शनिबारसम्म चल्नेछ।

काठमाडौंमा सुरु भएको ईपीजीको बैठकमा नेपालको तर्फबाट डाक्टर भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डाक्टर राजन भट्टराई तथा भारतबाट भगतसिंह कोस्यारी, महेन्द्र पी लामा, जयन्तप्रसाद र डाक्टर बिसी उप्रेती छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै दिल्लीमा ईपीजीको आठौं बैठक बसेको थियो । नयाँदिल्लीमा भएको आठौं बैठकमा पनि १९५० को सन्धि प्रतिस्थापनको विषय नटुंगिएपछि काठमाडौंमा नवौं बैठक तय गरिएको हो ।

यहि असार २० गते ईपीजीको समय सिमा सकिदै छ । त्यसअघि हुने बैठक पहिल्यै नमिलेका विषय आदान प्रदानबाट मिलिसक्नुपर्ने भएपनि भारतीय पक्ष उदास देखिएको अवस्थामा यो बैठक हुन लागेको हो ।भारतले आफ्नो सुरक्षाबाहेक अन्य विषयमा नेपालले लिने निर्णय स्वीकार्ने बताइसकेको भए पनि त्यसमा लिखित सहमति भने जनाएको छैन ।

नेपालले पनि भारतको संवेदनशीलतालाई ध्यानमा राखेर शान्ति र मैत्री सन्धिका दफा २, ५, ६ र ७ का विषयमा नेपाललाई समस्या नहुने गरी बीचको बाटो उपयोग गरेको भए पनि अझै टुंगिन सकेको छैन । नेपालले राखेका विषयमा भारतले ठूलो आपत्ति नजनाएकाले ईपीजी बैठकले संयुक्त प्रतिवेदन जारी गर्दै आ-आफ्नो मुलुकलाई बुझाउने आशा नेपाली पक्षले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement