काठमाण्डु – सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अर्याललाई नियन्त्रणमा लिएको छ । यद्यपि, उनलाई कहाँबाट र कुन समयमा पक्राउ गरिएको हो भन्नेबारे सीआईबीले औपचारिक जानकारी दिएको छैन ।
मलेसिया श्रमिक प्रकरणमा करिब दुई अर्ब रुपैयाँ हिनामिना भएको आरोपमा अनुसन्धान अघि बढाउने क्रममा तत्कालीन मुख्यसचिव अर्यालको समेत संलग्नता देखिएको भन्दै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सोही प्रकरणमा यसअघि नै दुई पूर्व श्रममन्त्रीसहित छ जना पक्राउ परिसकेका छन्।
अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै अर्याल नेपालबाहिर पुगेका थिए। सीआईबीले उनलाई नियन्त्रणमा लिइसकेको जनाउँदै चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको बताएको छ ।



प्रतिक्रिया