काठमाण्डु – हालका गृहसचिव एकनारायण अर्याल नेपालका २८ औँ मुख्यसचिव बन्ने भएका छन् । बिहिबार साँझ ५ बजे बस्ने बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने तयारी रहेको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठक नियमित भनिए पनि मुख्यसचिव नियुक्तिको तयारी भएको स्रोत बताउँछ ।
मुख्यसचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अनिवार्य अवकाशमा जाने भएकाले अर्याललाई उनको उत्तराधीकारीका लागि नियुक्त गर्न लागिएको हो ।
मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई, र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल प्रतिस्पर्धामा थिए ।
प्रतिष्पर्धीलाई उछिन्दै अर्याल मुख्यसचिव बन्न लागेका एक मन्त्रीले पनि जानकारी दिए । १० साउनमा मुख्यसचिव नियुक्त भएकी गड्तौला नेपालको इतिहासमै पहिलो महिला मुख्यसचिव हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेपछि वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन् ।
१० साउनमा बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया